असार मसान्त भित्रमा नगरपालिकामा दर्ता नभएका सहकारी खारेज गर्ने फुङलिङ नगरप्रमुख मादेनको चेतावनी

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २४ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आउँदो असार मसान्त भित्र नगर कार्यपालिकामा दर्ता नभएका सहकारी खारेज गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले बिहीबार फुङलिङमा आयोजना गरेको सहकारीका सरोकारवालासंगको कार्यशालामा कार्यक्रममा बोल्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले नगरपालिकामा दर्ता हुनुपर्ने सहकारी असार मसान्त भित्र दर्ता हुन नआए खारेज गर्ने चेतावनी दिनु भएको हो । दर्ता भएका र कम्तिमा तीन रोपनी जग्गा आफ्नो नाममा रहेका सहकारीहरुलाई कार्यालय भवन निर्माणका लागि नगरपालिकाले सहयोग उपलब्ध गराउने समेत नगरप्रमुख मादेनले बताउनुभयो ।‘दर्ता भएका सहकारीका समस्याप्रति नगरपालिकाको पनि दायित्व सृजना हुन्छ,दर्ता नभएका खारेजीमा जान्छन्’मादेनले भन्नुभयो । उहाँका अनुसार नगरपालिकामा स्थानीय तह नियमन क्षेत्र भएका ७ वटा र प्रदेश सरकार नियमन क्षेत्र भएका ५ वटा गरी जम्मा १२ वटा सहकारी नगरपालिकामा दर्ता भएका छन् ।

कोशी प्रदेश सरकारको उद्योग,कृषि र सहकारी मन्त्रालयले सहकारीका सरोकारवालामाझ सहकारी सम्वद्र्धनका लागि दुईवटा कार्यपत्र प्रस्तुत गरेको थियो । सहकारी संस्थाको अनुगमन विधि र प्रकृयाका बारेमा मन्त्रालयका सहकारी प्रवद्र्धन शाखा प्रमुख तोयानाथ तिमल्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि जिल्ला सहकारी संघका अध्यक्ष टामन सिग्देल र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले टिप्पणी गर्नु भएको थियो । यस्तै सहकारीको वर्तमान अवस्था,समस्या,चुनौति र समाधान बिषयमा मन्त्रालयको सहकारी अनुगमन शाखा प्रमुख लिलावल्लभ चापागाँईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्र उपर घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साई र पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले टिप्पणी गर्नुभयो ।

संघीय संरचनामा सहकारी संस्थाहरुको निमयन अधिकार भौगोलिक क्षेत्र विभाजनको आधारमा गरिएको छ । जस अन्तरगत एक स्थानीय तह(पालिका स्तर)कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमन सम्वन्धित स्थानीय तहले गर्ने छ । एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएमा ति सहकारी संस्थाको नियमन अधिकार सम्वन्धित प्रदेश सरकारमा रहन्छ । एक भन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सरकारी संस्थाको नियमन संघीय सरकारको हुने व्यवस्था रहेको छ ।

सहकारी ऐनको दफा १५० मा प्रदेश र स्थानीय तहको कानुन नबने सम्म स्थानीय तहसम्म कार्यक्षेत्र भएका सहकारी संस्थाको दर्ता तथा नियमन सम्वन्धी सम्पूर्ण कार्यहरु सम्वन्धित स्थानीय तहबाट हुने अन्तरिम व्यवस्था गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,नगरप्रमुख मादेन,जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम,,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल सहित वडाध्यक्ष सहितका जनप्रतिनिधि र सहकारी संस्थाका प्रमुख तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

 

Similar Posts