सिरिजङ्गा गाउँपालिकाद्धारा आयोजित एकीकृत घुम्ति सेवा शिविरको पाँचौ दिन सिकैचामा सेवा बितरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ति सेवा शिविरको पाँचौं दिन शनिवार पालिकाको वडा नं ३ सिकैचाका सेवाग्राहीले घरैदैलोबाटै सेवा पाएका छन् ।

एकीकृत घुम्ति सेवा शिविरको पाँचौं दिन १ सय ७० जनाको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि बितरण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर सञ्जित भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिकैचामा सबैभन्दा बढी रक्तचाँप र हातगोडा दुख्ने समस्या भएका बिरामी भेटिएका छन् ।

एकीकृत घुम्ति शिविरका क्रममा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाको परीक्षण तथा उपचार गरिएको छ । मेची आँखा अस्पतालका नेत्र सहायक निरज दाहालका अनुसार १ सय ९२ जना आँखाका बिरामीको परीक्षणका क्रममा ७ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । घुम्ति शिविरकै क्रममा मामाङ्खेमा १२,खेवाङमा ७,सिनाममा १८ जना र आम्बेगुदिनमा २२ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरुलाई शल्यकृयाका लागि सिफारिस गरिएको छ । शिविरका क्रममा ८५ जनालाई चश्मा र अन्यलाई निःशुल्क रुपमा औषधि बितरण गरिएको छ ।

शिविरमा गाउँपालिकाले बितरण गर्ने सेवाका अलवा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आँखाको रोगीहरुको उपचार तथा परीक्षणका कार्य हुनेछन् । गाउँपालिकाले मोतियाबिन्दुमुक्त गाउँपालिका बनाउने गरी अभियान सञ्चालन समेत गरिरहेको छ । चैत ५,६ र ७ गते पालिकाको केन्द्र तेल्लोकमा मोतियाबिन्दुको शल्यकृयाका लागि छनौट भएका बिरामीहरुको आँखाको शल्यकृया समेत गरिने पालिकाले जनाएको छ । यस्तै पशु स्वास्थ्य शाखाबाट ६४ सेवाग्राहीलाई पशु रोग बिरुद्धको औषधि बितरण तथा परार्मश सेवा बितरण गरिएको पालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज देवकोटाले जानकारी दिनुभयो ।

सेवा बितरण अन्र्तगत शनिवार पञ्जीकरणतर्फ ३ जनाको जन्मदर्ता गरिएको पालिकाका एमआईएस अपरेटर लीलानाथ पौडेलले जानकारी दिनुभयो । यस्तै भूमीकर सहित वडा कार्यालयकोतर्फबाट ३४ जनाले स्थानीय रुपबाटै राजश्व बुझाउने सेवा पाएकोे सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडा सचिव तायाहाङ राईले बताउनुभयो । शिविरमार्फत तीनवटा व्यवसायको नविकरण गरिएको सिरिजङ्गा गाउँपालिकाको प्रशासन शाखाका भवानीराज लामिछानेले जानकारी दिनुभयो ।

नेपाल बैंक लिमिटेड तेल्लोक शाखामार्फत १० जना सेवाग्राहीको स्थलगत रुपमै बैंक खाता खोल्ने सहितका बैंकिङ परार्मश सेवा बितरण भएको शाखाका कर्मचारी दुर्गा रम्तेलले बताउनुभयो । पालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक संजीव सिंहका अनुसार शिविरको चौथो दिनपनि सेवा लिन उल्लेख्य मात्राका सेवाग्राही शिविरमा उपस्थित भए ।

घुम्ति शिविर चैत ७ गते पालिकाको केन्द्र तेल्लोक आएर टुङ्गिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुँदै आएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts