| |

शिविरको पहिलो दिन अन्ठानब्बे जना मोतिविन्दुको रोगी फेला

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १६ । ताप्लेजुङमा बुधबारदेखि सुरु भएको आँखा शिविरमा पहिलो दिन नै अन्ठानब्बे जना मोतिविन्दुका रोगी फेला परेका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा सुरु भएको तीन दिने निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्यामा मोतिविन्दुका रोगी फेला परेका हुन् ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सुरु भएको हो । नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखा शिविर सञ्चालन भइरहेको छ । शिविरमा सेवा लिन आएकाहरुको आँखा परीक्षणका क्रममा ९८ जनाको आँखामा मोतिविन्दु भएको पाइएको आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।
इन्चार्ज गुरुङका अनुसार मोतिविन्दु फेला परेका विरामीहरुमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकसमेत रहेका छन् । मोतिविन्दु भएका विरामीहरुको बिहीबारदेखि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतको प्रत्यक्ष संलग्नतामा शल्यक्रिया सुरु हुने पनि उहाँले बताउनुभयो ।
यता शिविरमा आँखा परीक्षणका लागि बुधबार ६८१ जनाले नाम दर्ता गराएका नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार नाम दर्ता गराएका अधिकांसको आँखा परीक्षण गरिएको छ । समय अभावका कारण पहिलो दिन नाम दर्ता गराएका आँखा परीक्षण गर्न सम्भव नभएको पनि उहाँले जानकारी दिनुभयो ।
नाम दर्ता भई बाँकी रहेकाहरुको बिहीबार बिहानदेखि आँखा परीक्षणसँगै मोतिविन्दु भएकाहरुको शल्यक्रिया गरिने नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङले बताउनुभयो । उहाँकाअनुसार अझै धेरै सेवाग्राही तथा आँखाका विरामीले उपचार गर्न आउनका लागि सम्पर्क गरिरहेका छन् । तीन दिने शिविर भएकाले सबै सेवाग्राहीले उपचार सेवा पाउने पनि उहाँले बताउनुभयो ।
यता घुम्ती शिविरमार्फत आँखाको शल्यक्रिया गराउने ४० वर्षमाथि उमेर समूहका विरामीलाई चस्मा र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइने नेत्रज्योति संघ शाखा उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । शिविर आयोजकको भूमिकामा फुङ्लिङ नगरपालिका, सेवा फाउन्डेसन काठमाडौंसमेत रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts