भुक्तानी पाउने विश्वासिलो आधार नपाएपछि बहानन्दे–दोभान सडक निर्माण कम्पनीले भन्यो‘अब धेरैदिन पर्खदैनौं’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १४ । स्रोत प्राप्तिको आश्वासन पाएपनि स्रोत सुनिश्चित नभएपछि ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले अब धेरैदिन पर्खन नसक्ने चेतावनी दिएको छ ।
कार्य अनुसारको रकम भुक्तानी गर्नेगरी स्रोत सुनिश्चित नभएको तर भुक्तानी हुन्छ भन्ने मात्र आश्वासन पाएकोले तत्काल स्रोत सुनिश्चित नभए उसले कार्यस्थलबाट फर्किने अडान दोहो¥याएको छ । बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको एपेक्स कन्स्ट्रक्सन प्रालिका साइट इञ्चार्ज अनिल चौधरीले उज्यालो पोष्टसंग भन्नुभयोे‘सरकारले स्रोत प्राप्तिको आश्वासन दियो,तर आश्वासन अनुसार स्रोत सुनिश्चित गरेन,त्यही भएर कार्यस्थलबाट फर्कने मनशाय बनाउन थालेका छौं’ । कम्पनीले यो साताभित्र कार्यप्रगतिका आधारमा भुक्तानी हुनेगरी स्रोत सुनिश्चित नभए आफुहरुले काम छाड्ने अन्तिम मनस्थिति बनाएको चौधरीले बताउनुभयो । चौधरीले काम पूर्ण रुपमा नरोकिएपनि अपेक्षित प्रगति हुन नसकेको बताउनुभयो ।
काम अनुसारको भुक्तानी नपाएका कारण ४ महिना देखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिक समेत दिन नपाएको बताउँदै आएको निर्माण कम्पनीले रकमको अभावका कारण केहि मजदुरहरु काम छाडेर बाहिरिएको समेत बताएको छ । यसअघि उसले गत माघ २३ गते कार्य प्रगति अनुसारको रकम सुनिश्चित गरी भुक्तानी गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको थियो ।‘हामीले पर्खिएका पनि हौं,तर भुक्तानी गरेर समस्या समाधान गर्न सरकार तत्पर देखिएन’चौधरीले भन्नुभयो ।
उहाँका अनुसार कम्पनीका प्रमुख कार्यकारी रमेश अधिकारीको नेतृत्वको टोलीले काम अनुसारको रकम भुक्तानीका लागि सरकार र नियमक निकायसंग तागेता गरिरहेको छ । कम्पनीकातर्फबाट भएको तागेताप्रति सरकारले वेवास्ता गरेको आरोप लगाउँदै चौधरीले यो एकसाता सम्ममा पनि स्रोत सुनिश्चित नभए बाध्य भएर आफुहरु काम छाडेर बाहिरिने तयारीमा रहेको सुनाउनुभयो । यसअघि कालोपत्रे गर्ने कार्यमा खटिने गरी आएका डिष्ट्रीव्युटर अपरेटर हरि तिमल्सिना सहितको जनशक्ति बजेट अभावका कारण थप कार्य अघि बढाउन नसक्ने भएपछि अर्को साइटमा फर्किसक्नु भएको छ । ‘सवबेस राखिसकेको स्थलमा बेस राख्नै बित्तिकै कालोपत्रेको काम सुरु गर्ने कम्पनीको तयारी थियो ।
साइट इन्चार्ज चौधरीका अनुसार सो अवधिमा पनि रकम नपाए कम्पनीले दोभान–बहान्दे सडकको कालोपत्रे गर्ने कार्य छाडेर जनशक्ति र उपकरण तमोर करिडोरको निर्माणाधीन क्षेत्रमा उपयोग गर्ने छ । निर्माण स्थलमा ३ थान एक्स्काभेटर, ३ थान पानी ट्याङ्की र १–१ थान ग्रेडर र लोडर रहेका छन् । कार्य प्रगतिका आधारमा आफुहरुले रकम भुक्तानीका लागि करिब ७ करोड रुपैयाँ बराबरको बिल नियमक निकाय उत्तर दक्षिण(सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयमा पेश गरेपनि भुक्तानी नभएको चौधरीले बताउनुभयो । चौधरीका अनुसार कम्पनीले अहिले सम्म ६३ प्रतिशत भौतिक प्रगतिको कार्य गरेको छ । भुक्तानी भने ४७ प्रतिशत हाराहारी मात्र पाएको उहाँले बताउनुभयो ।
कम्पनीका अनुसार अनुसार वाल लगाउने, कल्भर्ट र नाली बनाउने र बाटो चौडा गर्ने कार्य सकिएको छ । कूल १० किलोमिटर दुरीमध्ये ३.५ किमीमा सवबेस लगाउने कार्य सकिएको र बाँकीको काम समेत अघि बढेपनि स्रोत सुनिश्चित हुन नसक्दा बीचमै काम छाड्नुपर्ने दुःखद् अवस्था आएको उहाँले जानकारी दिनुभयो । दोभान–बहानन्दे सडकको कालोपत्रे खण्डको चौडाइ ७ मिटरको हुनेछ । नाली, ढल र मानिस हिँड्ने ठाउँ सहित १० मिटर चौडा हुने साइट इन्चार्ज चौधरीले जानकारी दिनुभयो ।
उक्त सडक कालोपत्रे गर्नका लागि २०७९ साल असार २३ गते भ्याट सहित कूल ३३ करोड ९९ लाख ४६ हजार २ सय २६ रुपैयाँमा एपेक्स कम्पनीले सम्झौता गरेको थियो । कम्पनीले अहिले सम्म कामबापत १५ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाएको छ । सम्झौता भएको महिना दिन अवधिमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मंसिर महिनाबाट काम थालेको कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ साल फागुन महिना सम्म रहेको छ ।
२०५५ सालमा ग्रामीण सडक योजना अन्तर्गत निर्माण गर्न सुरु गरिएको बहानन्दे–दोभान सडकले प्रदेशसभाको निर्वाचन क्षेत्र नं ‘क’ र ‘ख’ लाई जोड्छ । तमोर नदी वारी र पारी गर्न यही सडकको प्रयोग गर्नुपर्छ । तमोर नदी पारी मेरिङदेन, आठराई त्रिवेणी,मैवाखोला र मिक्वाखोला गाउँपालिका पर्छन् । यी गाउँपालिकाका नागरिकले सदरमुकाम फुङलिङ आउन बहानन्दे–दोभान सडक प्रयोग गर्नुपर्छ ।