युवा पुस्ताको आवाज सुन्न सक्ने क्षमताको नेतृत्व अहिलेको आवश्यकता : उपमहासचिव शर्मा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ९ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले युवा पुस्ताको आवाज सुन्न सक्ने क्षमताको नेतृत्व अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै बिद्यमान सरकारले कसको पालामा नियुक्ति गरियो भन्ने आधारमा व्यवहार गरिरहेको दावी गर्दै त्यो लोकतान्त्रिक संस्कार नभएको बताउनुभयो । उहाँले घिसिङप्रति सरकारले गरिरहेको व्यवहार ठीक नभएको तर्क गर्दै नेपालको जलविद्युत क्षेत्रमा घिसिङ सहित अनुपकुमार उपाध्यायको नाम बिर्सन नहुने बताउनुभयो ।
‘धेरै बाहिर चर्चामा नआएको तर बिर्सन नहुने नाम हो,अनुपकुमार उपाध्याय’शर्माले भन्नुभयो । उपाध्याय तत्कालिन उर्जा सचिव हुनुहुन्छ । नेकपा(माओवादी केन्द्र) फक्ताङलुङ गाउँपालिका कमिटीको अधिबेशनलाई सम्बोधन गर्न जानु अघि प्रेस सेन्टरले ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले पार्टीको नेतृत्व चयनमा आम पार्टीका कार्यकर्ता निर्णायक हुने बताउनुभयो ।‘तपाँईले पनि पार्टी नेतृत्वको तयारी गरिरहनु भएको हो ? ’भन्ने सञ्चारकर्मीको जिज्ञासमा उहाँको उक्त भनाई थियो । शर्माले युवा पुस्ताको आवाज सुन्न सक्ने क्षमताको नेतृत्व प्रमुख हुने बताउनुभयो ।
पाथीभरा मुक्कुमलुङ क्षेत्रको बिबाद समाधानका लागि सरकारले लिईरहेको अग्रसरतामा थप बृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । पाथीभरा मुक्कुमलुङ क्षेत्रको बिबाद बार्ता र सम्बादमार्फत समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । स्रोत उपयोगमा स्थानीय समुदायसहितको स्वामित्व स्थापित हुनुपर्ने शर्माको भनाई थियो । राजतन्त्र सर्मथकहरुको सल्बलाहटको कुनै अर्थ नरहेको बताउँदै शर्माले देशका रैतिलाई नागरिकमा र सार्वभौमसत्ता जनतामा स्थापित गराउने संघीय लोकतान्त्रिक गणतन्त्र बाहेक अर्को कुनै शासन व्यवस्था आउनै नसक्ने बताउनुभयो ।
‘सार्वभौम नेपालीले आफ्नो अधिकार गुमाउँदैनन्,गुम्दैन र गुम्न दिनुपनि हुँदैन’शर्माले राजतन्त्रवादीहरुप्रति संकेत गर्दै भन्नुभयो ।‘ सानो समूहले राजतन्त्रको मुद्दा उठाइरहेको छ,तर त्यो निरर्थक मुद्दा हो’शर्माले भन्नुभयो । उहाँले कानुन निर्माण र कानुन कार्यान्वयनमा देखिएका समस्याका कारण जनतामा केहि निरासा रहेको र ति निरासाकोबिचबाट खेल्न खोज्नेहरुको सपना पूरा नहुने समेत बताउनुभयो । उहाँले जनतामा देखिएका केहि निरासा र उठेका असन्तुष्टीका आवाजको सम्बोधनका लागि सरकार र प्रमुख राजनीतिक दलहरु सम्बेदनशिल भने हुनुपर्ने समेत बताउनुभयो ।
राजनीतिक अस्थिरता र सत्ताको झिनाझम्टीका कारण पर्याप्त कानुन नबन्दा प्रदेश र स्थानीय सरकारसम्म पुग्नुपर्ने जति अधिकार नपुगेको भन्दै शर्माले कानुन निर्माण र कार्यान्वयनमा तीव्रता दिनुपर्ने तर्क राख्नु भएको छ ।‘जनताको चाहना अनुसार काम हुन नसक्दा जनतामा निरासा बृद्धि हुँदै गएको छ’शर्माले भन्नुभयो‘जनताका असन्तुष्टीको सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सबै देशभक्ति शक्ति एकजुट हुनुपर्छ’ ।