स्तरोन्नती तथा प्रवलीकरण गरिएको भवन उद्घाटनसंगै नेत्रज्योति संघ ताप्लेजुङलाई हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २० । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको स्तरोन्नती तथा प्रवलीकरण गरिएको भवन उद्घाटनसंगै हस्तान्तरण गरिएको छ ।

नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा करिव ९० लाख रुपैयाँ खर्चिएर ताप्लेजुङ विकास मञ्चद्धारा निर्मित भवन शनिवार नेपाल नेत्रज्योति संघ ताप्लेजुङलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन पछि भवनको साँचो नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भवन निर्माण र पूर्वाधार थपपछि आँखा स्वास्थ्य सेवा प्रवाह सहज हुने विश्वास लिनुभयो । उहाँले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यसंग जोडेर पालिका स्तरसम्म पुग्ने तहको बनाउन सबैको पहलकदमी जरुरी भएको बताउनुभयो ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाई जनतालाई सहज र सुलभ सेवा प्रदान गर्न पालिका स्तरमा सम्म रहेका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा समेत सवलीकरणको खाँचो समेत उहाँले औंल्याउनु भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको स्तरोन्नती तथा प्रवलीकरणका लागि सहयोग गर्ने नेपाल मेडिकल सर्पोट जर्मनी र यसका अगुवा ‘उस्सी दिदी’को भट्टराईले प्रशंसा गर्नुभयो ।

सोहि संस्थाद्धारा ताप्लेजुङका पालिका क्षेत्रका स्वास्थ्यसंस्थाहरुको सवलीकरणका लागि सहयोग गर्न सक्नेगरी पहल भईरहेको समेत भट्टराईले जानकारी दिनुभयो । नेपाल मेडिकल सर्पोट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चले यसअघि करिव १ करोड २२ लाख रुपैयाँको लागतमा ताप्लेजुङ जिल्ला अस्पतालको भवन प्रवलीकरण तथा स्तरोन्नती गरेको थियो । मञ्चका अध्यक्ष सन्तोष प्रसाँईले ताप्लेजुङको स्वास्थ्य सेवा प्रवाह गर्ने निकायको पूर्वाधार विकासका लागि नेपाल मेडिकल सर्पोट जर्मनीले गरेको सहयोग सह्रानीय रहेको बताउनुभयो ।

जर्मनी नागरिक उस्सी सेवानिवृत्त जर्मनी चिकित्सक हुनुहुन्छ । नेपालको स्वास्थ्य संस्थाको सवलीकरणका लागि सहयोग गर्दै आएकी उहाँलाई नेपालीले श्रद्धास्वरुप ‘उस्सी दिदी’को उपनाम दिने गरेका छन् । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल सहितले नेपाल मेडिकल सर्पोट जर्मनी र ‘उस्सी दिदी’को अगुवाई तथा सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ,सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,फुङलिङ नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो । ताप्लेजुङमा फुङलिङ र दोभान तथा पाँचथरका यासोक र थर्पु बजारमा समेत नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

फुङलिङमा सञ्चालित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई सेकेण्डरी अस्पतालको रुपमा स्तरबृद्धि गर्ने प्रयत्न भइरहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । दोभानमा रहेको आँखा उपचार केन्द्र मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा तथा थर्पु बजारमा सञ्चालित आँखा उपचार केन्द्र याङवरक गाउँपालिका र यासोकमा सञ्चालित आँखा उपचार केन्द्र कुम्मायक गाउँपालिको आर्थिक साझेदारीमा सुरु भएको हो । डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्र भने नेत्रज्योति संघ ताप्लेजुङ आफैंले सञ्चालन गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts