प्याबसन दिवसका अवसरमा विद्यार्थी र शिक्षक सम्मानित

-प्रयास लिम्बू
ताप्लेजुङ, पुस २४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) को ३३ औं स्थापना दिवसका अवसरमा ताप्लेजुङमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । स्थापना दिवसका अवसरमा प्याबसन ताप्लेजुङले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई मंगलबार सम्मान गरेको हो ।
सदरमुकाम फुङ्लिङस्थित होटल माउन्टेनमा आयोजित कार्यक्रमकाबीच विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीतर्फ २०७९ को विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नजिता ३.८ जीपीए ल्याउने विद्यार्थी युना गुरुङ रहनुभएको छ । निजी विद्यालयतर्फ फुङ्लिङस्थित कञ्चनजंघा बोर्डिङ स्कूलबाट एसईईमा सहभागी भई सर्बोत्कृष्ट नतिजा ल्याउन सफल गुरुङलाई नगदसहित सम्मान गरिएको हो ।
यस्तै शिक्षकहरुमा जानुका सुनुवार ताप्लेजुङ सिद्धार्थ एकेडेमी, रीचा मेन्याङ्बो कञ्चनजंघा बोर्डिङ स्कूल, करिस्मा लिम्बू तामाङ मेची सेन्टम्यारिज बोर्डिङ स्कूल र ताप्लेजुङ बुद्ध बोर्डिङ स्कूलकी शिक्षक कुमारी गुरुङ सम्मानित हुनुभएको छ । विद्यार्थी, शिक्षक साथै निजी विद्यालयका लगानीकर्ता समेतलाई नगद र प्रमाणपत्रद्वारा गरिएको प्याबसन ताप्लेजुङका सचिव तरुण भारतीले जानकारी दिनुभयो ।
सम्मानित विद्यार्थी, शिक्षक तथा लगानीकर्ता (फाउण्डर) लाई प्रतिनिधिसभाका सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगद, कदरपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री भट्टराई, नगर प्रमुख मादेन, सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, राजनीतिक दल, विभिन्न शैक्षिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।
शुभकामना मन्तव्यका क्रममा वक्ताहरुले निजी विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँहरुले समग्र जिल्लाको शैक्षिक विकासका लागि समन्वय, सहकार्य र आवश्यक भूमिका निर्वाह गर्दै अघि बढ्नका लागि सुझावसमेत दिनुभएको छ । कार्यक्रम प्याबसनका जिल्ला अध्यक्ष गणेश सिग्देलको अध्यक्षतामा सम्पन्न गरिएको हो ।