| |

साँघुका पहिरो पीडितलाई ग्यास सिलिण्डर र चुल्हो वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ । दाउराको विकल्पमा प्रयोग गर्नेगरी मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलसहितका पहिरो पीडित ६५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको हो ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमकाअनुसार गोर्खा वेल्फेयर ट्रस्टले ग्यास सिलिण्डर र चुल्होसहितका सामग्री बिहीबार पीडित परिवारलाई वितरण गरेको हो । अध्यक्ष वनेमकाअनुसार भान्सा कोठामा दाउराको प्रयोग गर्दै आइरहेका पहिरो पीडित परिवारलाई सहयोग गर्न गाउँपालिकाले ट्रस्टसमक्ष आग्रह गरेको थियो ।
गाउँपालिकाको आग्रहअनुसार गोर्खा वेल्फेयर ट्रस्ट (GWS) ले प्रतिपरिवार एकसेट ग्यास सिलिण्डर र चुल्हो लगायतका सामग्री उपलब्ध गराएको वनेमले जानकारी दिनुभयो । उहाँकाअनुसार ग्यास सिलिण्डर, चुल्हो सेटबाहेक अन्य प्रेसर कुकर, थाल, बटुकालगायतका भाँडावर्तनका सामग्री पीडित परिवारलाई वितरण गरिएको छ ।
ट्रस्टका प्रतिनिधिको उपस्थितिमा पहिरो पीडित परिवारलाई ग्यास चुल्हो सेटसहितका सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण विस्थापित तथा प्रभावित परिवारलाई ट्रस्टले सहयोग उपलब्ध गराएको हो ।
यता पहिरो पीडित परिवारहरुलाई सुरक्षित ठाउँमा राख्नका लागि गाउँपालिकाले साँघुकै एक सार्वजनिक जग्गामा अस्थायी आवास गृह (घर) निर्माण गरेको छ । निर्माणाधीन मदन भण्डारी रंगशालामा निर्माण गरिएको अस्थायी घरमा केही दिनभित्रै पीडित परिवारलाई बसाउने र उनीहरुलाई औपचारिक रुपमा घर हस्तान्तरण गर्ने गाउँपालिकाले तयारी गरिरहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts