सम्भावित बिपद् जोखिम प्रतिकार्य बारे ताप्लेजुङमा सुरक्षा फौजको संयुक्त अभ्यास
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । सम्भावित बिपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले आइतवार संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ ।
मनसुनजन्य बिपद्(बाढी र पहिरो)लाई लक्षित गर्दै बिपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको सशस्त्र १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी पहिरोबाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा बिपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो । उहाँले अभ्यासमूलक अनुशिक्षणमा बिपद् पछि सुरक्षाफौजबाट हुने खोजपड्ताल तथा उद्धारका कार्यमा बढी समय दिइएको बताउनुभयो । नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्यटोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य बिपद् बिरुद्ध खटिने प्रतिकार्यटोलीलाई अभ्यास शिक्षणमा राखिएको सप्रनाउ थापाले जानकारी दिनुभयो ।
प्राय भिरालो जमिन रहको ताप्लेजुङको अधिकाँस भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटिय क्षेत्रहरु बाढीको समयमा जोखिममा रहने गरेको जिल्ला बिपद् व्यवस्थापन समितिको बिपद् जोखिम तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । बिपद् प्रतिकार्यमा क्रममा खटिने नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै बिपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गएिको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताउनुभयो ।
संयुक्त अभ्यासमूलक अनुशिक्षणका क्रममा सशस्त्र प्रहरी वलको हाताभित्र पहिरोको स्वरुप,पहिरो गएपछि परेको जनधनको क्षतिबाट बचाउन गरिने प्रयास,मृतक तथा घाईतेहरुको उद्धार तथा राहत,उपचार प्रणाली,सूचना संकलन तथा अद्यावधिक,समुदाय परिचालन सहितका बिषय ‘नाटकीय’शैलीमा प्रस्तुत गरिएको सप्रनाउ थापाले बताउनुभयो । विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठूलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएकोबेला यस्ता घटना बिरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।