|

ताप्लेजुङमा ६१ जना उम्मेदवारले बुझाए सफाई सहितको स्पष्टीकरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १० । ताप्लेजुङका स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयावधि भित्र खर्च बिबरण नबुझाएका १ सय ५६ जनामध्ये ६१ जनाले सफाईको स्पष्टीकरण सहित खर्च बिबरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च बिबरण नबुझाएका उम्मेदवारहरुलाई आयोगले सफाई सहितको स्पष्टीकरणका लागि ७ दिने म्याद दिएको थियो । सो म्याद भित्र ६१ जनाले स्पष्टीकरणका साथ खर्च बिबरण बुझाएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा यहाँ उम्मेदवार भएकामध्ये २ सय २९ जनाले निर्वाचन खर्च बिबरण बुझाएका थिएनन् । यो जिल्ला समन्वय समिति र नगर तथा गाउँ कार्यपालिकामा उम्मेदवार भएका सहितको संख्या हो ।

आयोगले तत्कालका लागि स्थानीय तहको प्रत्यक्षतर्फ उम्मेदवार भई निर्वाचन खर्च बिबरण बुझाउन बाँकी रहेकाहरुलाई मात्र सफाई सहितको स्पष्टीकरणका लागि समयसीमा तोकेको थियो । निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचनमा भएको खर्चको बील भरपाई सहित आयोगले तोेकेको कार्यालयमा खर्च बिबरण बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो समयावधि भित्र खर्च बिबरण नबुझाएकाहरुलाई अन्तिम मौका भन्दै निर्वाचन आयोगले भदौ ५ गते देखि ७ दिन सम्म व्यक्ति स्वयम् उपस्थित भई सफाई सहितको स्पष्टीकरण पेशगर्नुपर्ने समयसीमा तोकेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts