ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेलाको आयोजना
–टीका यक्सो लिम्बू
ताप्लेजुङ, जेठ २४ । ताप्लेजुङमा पहिलो पटक औद्योगिक तथा पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवर्द्धन साथै बजारीकरण गर्ने उद्देश्यले औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गर्न लागिएको हो ।
जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा यही जेठ २६ देखि ३० गतेसम्म पाँच दिन मेला सञ्चालन हुने छ । सदरमुकाम फुङ्लिङमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । पर्यटकीय जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने र जिल्लामा उत्पादन हुने घरेलु सामग्रीको प्रदर्शन साथै प्रचारप्रसार गर्नेसमेत उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष भारतीले बताउनुभयो ।
महासंघका सचिव एवम् पर्यटन व्यवसायी हर्कराज गुरुङले स्थानीय उत्पादन अर्थात घरेलु उत्पादनको बजारीकरण गरी संलग्न उद्यमीहरको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने उद्देश्यलेसमेत मेलाको आयोजना गरिएको बताउनुभयो । औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरुको करिव तीन दर्जन स्टल राखिने छ भने कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकनको व्यवस्था मिलाइने छ ।
यस्तै मौलिक तथा स्थानीय खाद्य महोत्सव, खाँडी, अल्लो, ढाका तथा स्थानीय भेषभूषाको प्रदर्शनी रहने छ । पर्यटन तथा औद्योगिक फोटो प्रदर्शनी, औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमुलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तर्क्रिया समेतको आयोजना गरिएको महासंघका अध्यक्ष भारतीले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आर्थिक सहयोगमा मेलाको आयोजना गरिएको बताइएको छ । यस्तै उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, फुङ्लिङ नगरपालिका समेतको सहयोग रहेको आयोजकले जनाएको छ । मेलाको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा साङ्गीतिक कार्यक्रम हुने महासंघले जनाएको छ । यता घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले एक सूचना जारी गर्दै आफूले उत्पादन गरेको वस्तु तथा सेवाको बजारीकरण गर्न साथै प्रवर्द्धन गर्नका लागि जिल्लाका उद्यमीहरुलाई औद्योगिक मेलामा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ ।
