|

पाँचथरको कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र खुल्यो,सरोकारवालाद्धारा आँखा स्वास्थ्यको क्षेत्रमा नयाँ फड्कोको संज्ञा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णुप्रसाद सापकोटाले आँखा उपचार केन्द्र सञ्चालनको शुभारम्भ गर्नु भएको छ । कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । आँखा उपचार केन्द्र समुद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै जिसस पाँचथरका प्रमुख सापकोटाले आँखा उपचारको क्षेत्रमा कुम्मायक गाउँपालिकाले ठूलो फड्को मारेको बताउनुभयो । ताप्लेजुङ नेत्र ज्योति संघ पाँचथर सम्म पुगेर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन सकेको प्रति उहाँले नेत्र ज्योति संघ ताप्लेजुङ शाखाप्रति आभार प्रकट गर्नु भएको छ । आर्थिक साझेदारीमा आँखा उपचार केन्द्र भित्र्याएर सेवा आरम्भ गर्न सकेकोमा उहाँले कुम्मायक गाउँपालिकालाइ धन्यवाद दिनुभयो । आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने क्रममा कुम्मायक गाउँपालिकाले नेत्र ज्योति संघ ताप्लेजुङसंग बार्षिक ७ लाख रुपैंयाको साभेदारी गरेको छ । उसले उपचार केन्द्रका लागि भवन समेत उपलब्ध गराएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले बताउनुभयो । नेत्र ज्योति संघले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण,जनशक्ति व्यवस्थापन र अन्य आवश्यकीय प्रवन्ध गर्ने भएको छ । उपचार केन्द्रबाट अहिले आँखाको शल्यकृया बाहेकका परीक्षण र उपचारका कार्य हुने नेपाल नेत्र ज्योति संघद्धारा ताप्लेजुङमा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँ १ जना आँखा परीक्षण तथा उपचार प्राविधिक र १ जना चश्मा बनाउने दक्षता समेत प्राप्त कार्यालय सहयोगी रहने छन् । नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले नेत्र ज्योति संघले तीनै तहका सरकारसंग समन्वय र सहकार्यमा आँखा स्वास्थ्यको क्षेत्रमा पु¥याइरहेको सेवा अमूल्य भएको बताउनुभयो । उहाँले नेपालमा अन्धोपन निवारणका लागि नेत्र ज्योति संघले संघीय,प्रादेशिक र स्थानीय सरकारसंग प्रत्यक्ष सहकार्य गरिरहेको जानकारी दिनुभयो । नेत्र ज्योति संघका केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाँइले कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्रको शुभारम्भले आँखा स्वास्थ्यको क्षेत्रमा नयाँ बिगुल फुकेको दावी गर्नुभयो । उहाँले आँखा उपचार केन्द्रलाइ भित्र्याउन साझेदारी गर्ने कुम्मायक गाउँपालिका र पालिका प्रशासनप्रति आभार प्रकट गर्नुभयो ।

सेवा फाउण्डेसनका कार्यक्रम निर्देशक रामप्रसाद कडेंलले आँखा स्वास्थ्यको क्षेत्रमा नेत्र ज्योति संघको अगुवाइमा गाउँपालिकाले होस्टे गरेकोले आँखा उपचार केन्द्र कुम्मायक गाउँपालिका सम्म पुग्न सकेको बताउनुभयो । सेवा फाउण्डेसन बिगत लामो समय देखि आँखा स्वास्थ्यको क्षेत्रमा नेपाल नेत्र ज्योति संघसंग सहकार्य गरिरहेको संस्था हो । कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले नेत्र ज्योति संघ सहकार्य गरेर आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन पाउँदा आँखा स्वास्थ्यको क्षेत्रमा कुम्मायक गाउँपालिकाले उल्लेख्य प्रगति हासिल गरिरहेको अर्थ लगाउनुभयो । उहाँले आँखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता यासोक बजारमा खुलेको आँखा उपचार केन्द्रले हटाउने बिश्वास लिनुभयो । कुम्मायक गाउँपालिका र नजिकका बासिन्दाले अब दैनिक रुपमै यासोक बजारमा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा लिन सक्ने उहाँले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले कुम्मायक गाउँपालिकाका आँखा उपचार केन्द्र भित्रनु चानचुने कुरो नभएको बताउँदै गाउँपालिकाका र पालिका प्रशासनको टिमको अथक प्रयत्नले यो कार्य पूरा भएको बताउनुभयो । उहाँले पालिका अध्यक्ष चेम्जोङ,उपाध्यक्ष सीता आचार्य,पालिकाकाभरीका ५ वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु र गाउँसभा सदस्यहरुलाइ आँखा उपचार केन्द्र कुम्मायकमा भित्र्याउन सकेको प्रति आभार व्यक्त गर्नु भएको छ । सहकार्य गर्न तयार रहेकोमा उहाँले नेत्र ज्योति संघ ताप्लेजुङलाइ धन्यवाद समेत दिनु भएको छ । कुम्मायक गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले कुम्मायक गाउँपालिकामा सुरु भएको उपचार केन्द्रले आँखा स्वास्थ्यको क्षेत्रमा प्रभावकारी नतिजा ल्याउने बिश्वास लिनुभयो । प्याब्सन ताप्लेजुङका पूर्व अध्यक्ष इन्द्र गुरुङले नेपाल नेत्र ज्योति संघले बिद्यार्थी आँखा जाँच लगायतका कार्यक्रम गरेर अन्धोपन निवारणमा पु¥याएको सहयोग अनुकरणीय रहेको बताउनुभयो । आँखा उपचार केन्द्रको शुभारम्भ संगै यासोक बजारमा कुम्मायक गाउँपालिका,नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाण्डौको आयोजनामा ३ दिने निःशुल्क शल्यकृया सहितको शिविर सुरु भएको छ । ४ गते सम्म चल्ने शिविरमा इटहरी आँखा अस्पतालका डाक्टर अंकिता शर्माको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले परीक्षण तथा उपचार गरिरहेको कुम्मायक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज बसन्त लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts