कूल संक्रमितमध्ये ताप्लेजुङमा करिव ७१ प्रतिशत संक्रमणमुक्त,सक्रिय संक्रमितको संख्या ४ सय १७
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २२ । ताप्लेजुङमा करिव ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो बिबरण अनुसार अहिले ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ४ सय १७ रहेको छ । जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति खरिदार बिजय गोठाले गौतमका अनुसार कूल संक्रमितमध्ये १ हजार २१ जना संक्रमणमुक्त भएका छन् । १ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिनुभयोे । सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थागत क्वारेन्टिनमा २ जना रहेका छन् । १३ जना जिल्ला अस्पतालको आइसोलेसनमा र १ जना सिरिजंगा गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा रहेको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २ जना संक्रमितलाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी समेत प्रशासनले दिएको छ । जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति गौतमले आफुहरुको अभिलेखमा भने कोरोना संक्रमणका कारण जिल्ला भित्रै १४ जना मानिसको ज्यान गएको बिबरण रहेको बताउनुभयो । स्वास्थ्य कार्यालयले ताप्लेजुङ स्थायी ठेगाना भइ अन्यत्र उपचारका क्रममा मृत्यु भएका समेतको बिबरण राख्ने गरेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता यहाँ २० जनाको ज्यान गएको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा एन्टीजेन बिधिबाट ३ हजार ६ सय ८० र पीसीआर बिधिबाट २ हजार २ सय ३५ गरी ५ हजार ९ सय १५ जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआर बिधिबाट ५ सय ६९ र एन्टीजेन बिधिबाट ८ सय ७४ जना संक्रमितको पहिचान भएको बिबरण समेत प्रशासन कार्यालयले उपलब्ध गराएको छ ।