अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोर्ने यी महिलालाई मृत्युदण्ड दिइँदै
(एजेन्सी)कात्तिक ३ । अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोरेको कसुरमा एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । बिबिसीका अनुसार लिसा मन्टगमरी नाम गरेकी कैदी महिलालाई आगामी डिसेम्बर ८ तारिखका दिन प्राणघातक सुई दिएर मृत्युदण्ड दिइने भएको हो । उनले सन् २००४ मा मिसोरीमा एक गर्भवतीको हत्या गरी पेट चिरेर शिशु लगेकी थिइन् । अमेरिकाको न्याय मन्त्रालयका अनुसार २००४ डिसेम्बर मन्टगमरी कुकुरको छाउरा किन्ने भन्दै क्यान्ससबाट मिसोरीस्थित ८ महिनाकी गर्भवती बबी जो स्टिनेटको घर पुगेकी थिइन् । न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘घरभित्र पसेपछि मन्टगमरीले गर्भवती स्टिनेटलाई आक्रमण गरिन् र बेहोस बनाइन्। त्यसपछि भान्छामा प्रयोग गर्ने चक्कुले स्टिनेटको पेट चिरिन् । त्यसो गर्दैगर्दा स्टिनेटको होस आयो। तर संघर्षका क्रममा उनी मारिइन् । त्यसपछि मन्टगमरीले उनको पेटको बच्चा झिकेर आफ्नै हो भन्ने प्रयत्नमा लागिन् ।’ त्यसपछि सन् २००७ मा उनलाई न्यायाधीशको जुरीले उनलाई अपहरण र हत्यामा दोषी ठहर गर्दै सर्वसम्मतिले मृत्युदण्डको सजाय सुनायो । अमेरिकामा झन्डै ७० वर्षपछि महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । मृत्युदण्डसम्बन्धी सूचना संकलन गर्ने ‘डेथ पेनाल्टी इन्फर्मेसन सेन्टर’का अनुसार यसअघि अमेरिकामा बनी हेडीलाई सन् १९५३ मा मृत्युदण्ड दिइएको थियो । यस्तै दुई मन्त्रीको हत्या कसुरमा ब्र्यान्डन बर्नार्डलाई पनि डिसेम्बरमा मृत्युदण्ड दिने तयारी छ । ट्रम्प प्रशासनले गत वर्ष मृत्युदण्ड पुनस् सुरू गर्ने बताएको थियो । (नागरिक अनलाइनबाट)