|

कांग्रेसबाट केसीको ठाउँमा पाण्डे सांसद बन्‍ने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २१ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएकाले रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् । समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको निधन भएपछि पाण्डे सांसद बन्‍ने भएका हुन् । पाण्डेलाई केसीको ठाउँमा सांसद बनाइने कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उद्योगीसमेत रहेका सांसद तथा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको सोमबार राति पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको थियो । पाण्डेलाई सांसद निर्वाचित गर्नका लागि संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई सांसद केसीको निधन भएको जानकारी गराएपछि क्लस्टरअनुसार सिफारिस गर्न पार्टीलाई चिठी लेख्ने छ । त्यसपछि पार्टीले जानकारी गराएको आधारमा आयोगले सोही क्लस्टरबाट सांसद निर्वाचित गर्ने प्रावधान छ । निर्वाचनका बेला बुझाएको समानुपातिकतर्फको बन्दसूचीको आधारमा सांसद निर्वाचित गराइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts