अमेरिकामा पहिलोपल्ट एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण
काठमाडौ,कात्तिक २१ । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको पुष्टि गरेको छ । अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार थि एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको छ । यो हप्ता मात्रै अमेरिकामा ६ लाखभन्दा बढीमा संक्रमण देखिएको छ । विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ । पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ । बिहीबार दिउँसोसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ७ सय २९ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।