यथास्थान र घरपरिसर भित्रै बसेर पर्व मनाउन प्रशासनको अपिल,देउसी–भैलो सहितमा प्रतिवन्ध
ताप्लेजुङ,कात्तिक २ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिदामा जिल्ला बाहिरबाट आउने तथा बिदामा गएर फेरी कार्यक्षेत्रमा फर्कनेहरुबाट कोरोना संक्रमणको दरले बढ्ने भएकोले यथास्थान र आफ्नै घर परिसरमा रही चाडपर्व मनाउन अनुरोध गरेको छ । आइतवार एक बिज्ञप्ती प्रकाशित गर्दै प्रशासन कार्यालयले मानिसहरुको आवतजावतका कारण संक्रमणको दर बढ्न गइ व्यवस्थापन गर्न कठिन हुनेतर्फ सचेत भइदिन दिन अनुरोध गरेको छ । प्रशासन कार्यालयले यसबर्षको चाडवाड आ–आफ्नो संस्कार अनुसार परिवारका सदस्यहरुसंग मात्र रहेर आफ्नै घरपरिसरमा सिमित रही मनाउन समेत अपिल गरेको छ । यस्तै पाथीभरा शक्तिपीठ सहित मठमन्दिर,गुम्बा लगायतमा दैनिक नगरी नहुने नित्य पूजा बाहेक सबै धार्मिक कार्यहरु नगर्न÷नगराउन नागरिकहरुलाइ अनुरोध गरेको छ । नाचगान लगायतका जात्रा÷मेलाहरु,महोत्सव, देउसीभैलो,समूहमा गरिने खेलकुद लगायतका मानिसको बढी भिडभाड हुने क्षेत्रहरुमा प्रशासन कार्यालयले प्रतिवन्ध लगाएको छ । कसैले यस बिपरित हुने कार्य गरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । ताप्लेजुङमा अहिले सम्म ११ जनामा कोरोना संक्रमण देखा परेको र ९ जना निको भइ घर फर्केको तथा २ जना मात्र सक्रिय संक्रमितको संख्या रहेको समेत प्रशासनले बिज्ञप्तीमार्फत जनाएको छ । शाखा अधिकृत सूर्यप्रसाद दाहालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा चाडपर्वलाइ सभ्य,शालिन र मितब्ययी बनाउन आम उपभोक्ताहरुलाइ आग्रह गरिएको छ । साथै,स्वास्थ्यको मापदण्ड अनुसार मास्क,सयानीटाइजरको प्रयोग र भौतिक दुरी कायम गरी बिना भिडभाड खरिद बिक्रीका लागि उपभोक्ता र व्यवसायीलाइ सचेत गराइएको छ ।