संक्रमित ३ लाख नाघ्‍ने सरकारको आकलन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २९ । सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ । तीमध्ये करिब ३६ हजार सक्रिय संक्रमित छन् । ‘दसैंमा गाउँ गई अरूलाई पनि संक्रमित बनाएर सहर फर्कंदा स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, ‘सहरमा मात्रै केन्द्रित संक्रमण गाउँमा फैलिँदा अलि चुनौती हुन सक्ने देखेर व्यवस्थापनमा जुटिरहेका छौं ।’ उनका अनुसार अहिले आईसीयू र भेन्टिलेटर मात्रै अभाव छ । ‘जनरल बेड खाली नै छन् तर अवस्था बिग्रियो भने बेड अभाव हुने देखेर सतर्कता अपनाइसकेका छौं,’ उहाँले भन्नुभयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चाडबाडका बेला बढ्न सक्ने संक्रमितलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई ‘कोभिड डेडिकेटेड’ मा रूपान्तरण गरिसकेको बताउनुभयो । ‘पहिलो चरणमा सरकारी संरचनाबाटै संक्रमितको उपचार गर्न यो निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो संरचनाले नभ्याउने भए निजी अस्पताल र मेडिकल कलेजलाई प्रयोग गर्छौं ।’ मिर्गौला, मुटुरोग, बालरोग, मानसिक रोगका अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालमा रूपान्तरण गरिएको छ । मुटुरोग लागेकालाई कोरोना भए यसकै उपचार गर्ने गंगालाल, बालरोगसमेत भएकालाई कान्तिमा राख्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आईसीयू र भेन्टिलेटरको संख्या पनि क्रमशः बढाइरहेको ढकालले बताए । संक्रमण देखिएपछि मात्रै करिब तीन सय भेन्टिलेटर र एक हजारभन्दा बढी आईसीयू थपिएको उहाँको भनाइ छ । कोसी, नारायणी, भरतपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी, डडेलधुरा अस्पतालमा ५ भेन्टिलेटरसहित १५ वटा आईसीयूका लागि ३ करोडका दरले बजेट पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वटा भेन्टिलेटरसहित १० वटा आईसीयूका लागि २ करोड, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १० भेन्टिलेटरसहित १४ आईसीयूको ५ करोड ७५ लाख, धुलिखेल अस्पतालमा ५ भेन्टिलेटरसहित १४ आईसीयू सञ्चालन गर्न २ करोड ८५ लाख र नेपाल प्रहरी अस्पतालमा २० भेन्टिलेटर र आईसीयूसहित अन्य व्यवस्थापन गर्न ८ करोड ४० लाख पठाइसकेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । उहाँका अनुसार धनकुटा, पाँचथर, सर्लाही, गौर, नुवाकोट, धादिङ, दमौली, कपिलवस्तु, अर्घाखाँची, महाकाली, टीकापुर, सल्यान अस्पतालमा ४ वटा भेन्टिलेटर र १० वटा आईसीयू शय्या बढाउन २ करोडका दरले २८ करोड अस्पतालमै पठाइएको छ । अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा १० लाखका दरले ६४ करोड ९० लाख रुपैयाँ निकासा दिइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts