पूर्वेली सहकारीद्वारा सामूहिक किबी खेती
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ । केहीवर्ष अघिसम्म परम्परागत शैलीमा र किसान एक्लैले आपूmले जाने÷बुझेको मात्र खेती गर्दै आएका ताप्लेजुङका किसानले पछिल्लो समय सामूहिक रूपमा पनि खेती गर्न थालेका छन् । समूह र सहकारीमा आवद्ध भई यहाँका किसानले सामूहिक रुपमा विभिन्न फलपूmल तथा तरकारीजन्य खेती गर्न थालेका हुन्
एक्लै भन्दा पनि सामूहिक खेती प्रणाली अपनाएमा राम्रो उपलब्धी हुने र कुनै समस्या आएमा वा नोक्सानी बेहोर्नुपर्ने अवस्था आएका धेरै घाटा नहुने भएकाले किसानहरु सामूहिक कार्यमा जुट्न थालेका पाइएको छ । यस्तै सरकारले पनि सामूहिक प्रयासको विभिन्न खेती वा योजनालाई नै प्राथमिकता दिई अनुदान सुविधाहरु उपलब्ध गराउने नीति लिएपछि किसानहरु सामूहिक खेती तथा योजनामा सक्रिय हुन थालेका हुन् ।
यसरी सामूहिक योजना बनाएर जिल्लास्थित पूर्बेली पर्यटन सहकारी संस्था लिमिटेडले सामूहिक किबी खेती सुरु गरेको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङ सिरानमा सहकारीले १८ रोपनी जग्गा आफैंले खरिद गरेर किबी खेती सुरु गरेको हो । पूर्बेली पर्यटन सहकारी संस्थाको नाउमा सो जग्गा खरिद गरेर संस्थामार्फत सामूहिक खेती सुरु गरिएको सहकारीका अध्यक्ष बिमल भण्डारीले बताउनुभयो ।
भण्डारीका अनुसार १८ रोपनी जग्गामा हाल चारसय वटा किबीको बिरुवा रोपिएको छ । एक वर्ष अघिमात्र इलामबाट बिरुवा ल्याएर लगाएको सामूहिक किबी खेती अहिले राम्ररी फस्टाउन थालेको उहाँले बताउनुभयो । बिरुवा रोपेको तीन वर्षदेखि फल्न थाल्ने भएकाले सोहीअनुसार किबी खेतीबाट सहकारीको आम्दानी सुरु हुने सहकारीमा आवद्ध किसानको अपेक्षा रहेको छ ।
यता गएको आर्थिक वर्ष २०७६÷७७ मा किबी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र पाँचथरबाट पाँच लाख रुपियाँ अनुदान सहयोग प्राप्त गरेको पनि सहकारीले जनाएको छ । उक्त बजेटले किबी बगैंचाको माच (थाङ्ग्रा) व्यवस्थापनको कार्य गरिएको सहकारीका सल्लाहकार श्रीकुमार माबोले बताउनुभयो ।
जिल्लाको पर्यटकीय क्षेत्र सुकेटार नजिक किबी खेती रहेकोले नमुना सामूहिक खेतीको रुपमा व्यवस्थापन गरी कृषि पर्यटन स्थलको रुपमा विकास गर्ने योजना रहेको पनि सहकारीका अध्यक्ष भण्डारीले बताउनुभयो । ताप्लेजुङ आएका पर्यटकलाई सामूहिक नमुना खेतीको अवलोकन गराउने र अर्गानिक उत्पादनको स्वाद चखाउने योजना रहेको उहाँले सुनाउनुभयो ।