| |

खानपान र जीवनशैलीमा सुधार गरेर मधुमेहबाट बच्न एचपीएफको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङमा मधुमेहको जोखिम उच्च रुपमा रहेको भन्दै ह्युमन प्राटिक्स फउण्डेसन(एचपीएफ)ले खानपान र जीवनशैलीमा सुधार गर्न सुझाव दिएको छ । बिद्यालय पूर्वाधार,गुणस्तरीय शिक्षा,बिद्यालय सुबिधा र उद्यमशिलता प्रवद्र्धन कार्यक्रम र बिद्यालयमा आधारित मधुमेह रोकथाम कार्यक्रमलाइ कार्यक्षेत्र बनाएर सन् २०१७ बाट ताप्लेजुङमा सञ्चालित एचपीएफ मधुमेह(सुगर)रोग बिरुद्ध साधारण खानपान र जीवनशैली अपनाउन सल्लाह दिएको छ । बिद्यालय तहबाटै मधुमेह र नसर्ने रोग बिरुद्ध समुदायका सदस्यलाइ जागृत गराउन बिद्यालयमा आधारित मधुमेह कार्यक्रम अन्र्तगत बिद्यालय सचेतीकरण साप्ताहिक पाक कक्षा,बिद्यालयमै करेसाबारी उत्पादनको अभियान रहेको छ । बिद्यालयमा आधारित मधुमेह रोकथामका संयोजक शिबलाल थापाका अनुसार नेपालको परिबेशमा मधुमेहको जोखिम प्रतिशत ४.३ रहेको छ । एचपीएफमार्फत ताप्लेजुङका ३ हजार ५ सय ११ जनामा गरिएको नमूनागत मधुमेह परीक्षणमा मधुमेहको जोखिममा रहेको संख्या १० प्रतिशत हाराहारी अर्थात् ९.९६ प्रतिशत देखिएको समेत उहँले जानकारी दिनुभयो । कार्यक्षेत्रका बिद्यालयहरुमार्फत बिद्यालय तहबाटै मधुमेह रोग रोकथाम अभियान सञ्चालन गरी अभिभावक सम्म पु¥याउन कार्यक्रमले टेवा पु¥याएको थापाले बताउनुभयो । एचपिएफमा मधुमेह रोकथाम तथा स्वास्थ्य सम्वन्धी कार्यको सहजीकरण गर्ने सृजना मिश्रका अनुसार हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । सामान्यतया रगतमा चिनीको मात्रा बढेपछि यसलाई मधुमेह रोग लागेको भन्छौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । उहाँका अनुसार सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ । मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा हुन गर्छ । मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात् बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ । प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ । मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन्,किनभने कतिपयलाई लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन्, आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ । खाना रुचेर पनि तौल घट्दै जाने,पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने,मुख सुख्खा हुने, प्यास धेरै लाग्ने,भोक बढी लाग्ने तर दुव्लाउदै जाने,कमजोरी हुने र खुट्टाहरु झम्झमाउने,खुट्टाहरु पोल्ने र घाउहरु छिटो निको नहुने मधुमेहका लक्षण हुन् । मधुमेह भएर नियन्त्रणमा राख्न सकिन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म र त्यममध्ये पनि प्रायः देखिने एउटा असर आँखामा हुने गर्छ र आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने विज्ञहरुले बताएका छन् । अर्को असर मिर्गौलामा गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना रहन्छ । हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ भने पक्षघातको सम्भावना पनि उत्तिकै हुन्छ । बंशजको आधार अर्थात परिवारको एक सदस्यलाई मधुमेह भयो भने त्यो जीनको आधारमा सन्तानहरुमा देखिने हुन्छ । यस्तो सम्भावना ५० प्रतिशत रहने विज्ञहरुले भनेका छन् । मधुमेह हुने अर्को कारण भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी र खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुराले मधुमेह निम्त्याँछ । मधुमेह रोग लाग्न नदिन वा नियन्त्रणको बाटोमा जान सामान्य खानपान अपनाउनु नै राम्रो हुने विज्ञहरुले सुझाव छ । क्यालोरी भएको चिज भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको सेवन कम गर्नाले मधुमेह रोग नियन्त्रणमा आउने विज्ञहरुको भनाइ छ । एचपीएफले सञ्चारकर्मीहरुमार्फत जनचेतना प्रवाह गर्ने उद्देश्य सहित ताप्लेजुङका क्रियाशिल सञ्चारकर्मीहरुलाइ मधुमेह रोग,लाग्ने कारण र नियन्त्रणका उपाय सुझाएको हो । एचपीएफका कन्ट्री म्यानेजर शिवबहादुर रायमाझीले आफ्ना गतिविधि बारे जानकारी दिन र राय तथा परार्मश लिन र मधुमेह रोगबाट बच्नका लागि अपनाउनुपर्ने सन्देश प्रवाहमा सञ्चारकर्मीहरुको सहयोगका लागि कार्यशाला गरिएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts