कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

अरुलाई पनि शेयर गरौ !

बुटवल,भदौ २ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गर्नुभयो । गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहनु भएका उहाँ कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति हुनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts