ताप्लेजुङबाट थप ४२ जनाको स्बाव परीक्षणका लागि पठाइयो
ताप्लेजुङ,साउन १९ । ताप्लेजुङबाट सोमवार ४२ जनाको स्वाब परीक्षणका लागि पठाईएको छ । २ जना कोरोना संक्रमित सहित ३६ पुरुष र ६ महिला गरी ४२ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएको ताप्लेजुङ जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । भारतसहित तेस्रो मुलुकबाट आई सदरमुकाम फुङ्लिङस्थित होल्डिङ सेन्टरमा रहेका,क्वारेन्टिन तथा होल्डिङ सेन्टरको सुरक्षा तथा स्वास्थ्यका क्रममा खटिएका जनशक्ति र होल्डिङ सेन्टरमा रहेका तथा क्वारेन्टिनमा बिगत १४ दिन यता भ्रमण गरेका र कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सरकारले जारी गरेको पीसीआर परीक्षणको पछिल्लो मापदण्डका आधारमा स्वाब संकलन गरी पठाईएको जानकारी दिनुभयो । ताप्लेजुङमा अहिले २ जना कोरोना संक्रमितलाई फुङ्लिङ स्थित उद्योग बाणिज्य संघको भवनमा राखिएको छ । यिनीहरु सहित ३ जना कोरोना संक्रमितको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा ३ मध्ये २ जनाको दोस्रो पटकको स्वाब परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । त्यसपछि करिव ५ दिनको अवधिमा कोरोना संक्रमित २ जनाको स्वाब तेस्रो पटक परीक्षणका लागि पठाईएको छ । स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएकालाई घर पठाईने छ । यसअघि दोस्रो पटकको परीक्षणबाटै नेगेटिभ नतिजा आएका १ जना कोरोना संक्रमित भने निको भएर घर गईसकेका छन् ।