|

मनपरी भाडा असुलेको भन्दै अनेरास्ववियुद्वारा विरोध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ४ । ताप्लेजुङमा यातायात व्यवसायीले स्थानीय रुटमा मनपरी भाडा असुलेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) कारण देश तथा समाज असमान्य बनिरहेको बेला स्थानीय रुटमा चल्ने सवारी साधनले चर्को अर्थात मनपरी भाडा असुल गरेकोभन्दै अनेरास्ववियुले विरोध जनाएको हो ।
सत्तारुढ नेकपा निकट अनेरास्ववियु ताप्लेजुङले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मनपरी भाडादर असुलेकोप्रति प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई ध्यानाकर्षण गराएका छन् । महामारीपछि गरिएको लकडाउनका कारण लामो समयसम्म ठप्प बनेको यातायात क्षेत्र लकडाउन केही सामान्य बनेपछि स्थानीय रुटमा यातायात सञ्चालन हुन थालेको र यातायात सञ्चालन हुन थालेसँगै सरकारको मापदण्ड र नियमलाई उल्लङ्घन गरी मनपरी भाडा उठाएकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ ।
हालको विषम परिस्थितिमा सामाजिक दायित्व र मानवीयताको थोरै पनि ख्याल नगरी यात्रु तथा सेवाग्राही मर्कामा पर्नेगरी असुल्न थालिएको भाडा दर तत्काल बन्द गर्न पनि अनेरास्ववियुले माग गरेको छ । यता यस्तो अनियमित भाडा असुली नियन्त्रण गर्न र आवश्यक वातावरणका निम्ति वा तत्काल समस्या समाधानको पहल थाल्न प्रजिअ निरौलालाई अनेरास्ववियुले अनुरोध पनि गरेको छ । अनेरास्ववियुका जिल्ला संयोजक डिल्ली न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्ति विद्यार्थीका जिल्लास्तरीय नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts