| |

कोशी प्रदेश नामाकरणको ताप्लेजुङमा विरोध

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १८ । प्रदेश १ को कोशी प्रदेश नामाकरण गरिएपछि ताप्लेजुङमा विरोध गरिएको छ । जिल्लास्थित जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल र केही जातीय तथा धार्मिक संस्थाले कोशी प्रदेश नामाकरणको विरोध गरेका हुन् ।
सदरमुकाम फुङ्लिङमा उक्त दल तथा जातीय संस्थाहरुले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रदेश १ को कोशी नामाकरण गरिएकोमा आपत्ति जनाएका छन् । राष्ट्रपतिको निर्वाचन प्रक्रियासँगै धरापमा परेको प्रदेश सरकार र प्रदेश सभाले बुधबार छापामार शैलीमा कोशी प्रदेश नामाकरण गरेकोप्रति आफूहरुको गम्भीर आपत्तिसँगै असहमति रहेको जसपा नेपालका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले बताउनुभयो ।
प्रदेश १ को ऐतिहासिक राजनीतिक पहिचानको आधारमा नामाकरण गर्नुपर्ने आफूहरुको प्रमुख मुद्दा विपरीत कोशी नामाकरण गरिएकोले यसविरुद्ध सशक्त र बलिदानीपूर्ण विद्रोहमा होमिनु बाध्य हुनुपर्ने अवस्थामा पु¥याएको मादेनले बताउनुभयो । उहाँले कोशी प्रदेश नामाकरण गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै मागको बेवास्ता गरिएमा जस्तोसकै मूल्य चुकाउनलाई आफूहरु पछि नपर्ने पनि बताउनुभयो ।
राजनीतिक दलहरु जसपा नेपालका जिल्ला अध्यक्ष मादेन, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष इन्द्र थलङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष प्रताप चोङ्बाङले प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । यस्तै जातीय तथा धार्मिक संस्थातर्फ किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष डम्बर पालुङ्वा र किराँत धर्म साहित्य उत्थान सङ्घका जिल्ला सचिव सरोज कङ्लिबाले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त दल तथा जातीय धार्मिक संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश विद्रोह, लिम्बुवान, थारुहट लगायतबाट भएको बलिदानीपूर्ण संघर्ष विपरीत षड्यन्त्रपूर्वक ढंगबाट कोशी नामाकरण गरिएको उल्लेख छ । कोशी प्रदेश नामाकरणविरुद्ध हुने आन्दोलनबाट उत्पन्न हुने सबैखाले परिस्थितिको जिम्मेवार राज्य स्वयम् हुनुपर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts