आउँदो नयाँ बर्षमा ओलाङचुङगोला–सिङ्जेमा ताल–टिपताला भञ्ज्याङ पर्यटन प्रर्वद्धन भ्रमण कार्यक्रम हुँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ११ । कोशी पर्यटन भ्रमण बर्ष २०८२ को अवसर पारेर ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ओलाङचुङगोला–सिङ्जेमा ताल–टिपताला भञ्ज्याङ पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको छ ।
टिपताला नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र हो । ताप्लेजुङ सरोकार केन्द्रका महासचिव अशोक प्यासी राईका अनुसार २०८२ साल चैत २८ गते देखि २०८३ साल बैशाख ६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ । साँस्कृतिक,प्राकृतिक र धार्मिक हिसावले महत्वपूर्ण मानिएको क्षेत्रको भ्रमण पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी भइदिन सरोकार केन्द्रले आवह्वान गरेको छ । कार्यक्रम संयोजक मिङ्मा डण्डु लामाका अनुसार काठमाडौंबाट धरान–बसन्तपुर–तीनजुरे–गुफा–मिल्के–साँघु–दोभान–फुङलिङ–तापेथोक–लेलेप–ओलाङचुङगोला–टिपताला–सिङ्जेमा तालसम्मको भ्रमण दूरी तय गरिएको छ । भ्रमणमा सहभागी हुन चाहनेलाई चैत २० गते भित्र सम्पर्क राख्न समेत ताप्लेजुङ सरोकार केन्द्रले आग्रह गरेको छ ।
भ्रमण तथा पर्यटन प्रर्वद्धन कार्यक्रममा काठमाडौंबाट सहभागी हुनेले जनही ३० हजार,धरानबाट सहभागी हुनेले २५ हजार र ताप्लेजुङबाट सहभागी हुनेले १५ हजार रुपैयाँ शुल्क तिनुपर्ने सरोकार केन्द्रले बताएको छ । उक्त शुल्क सहभागीको यातायात,आवास तथा खाना खर्चको रुपमा रहने समेत सरोकार केन्द्रले जनाएको छ । कोशी पर्यटन भ्रमण बर्ष २०८२ तथा कोशी प्रदेश सरकारसंग समेत समन्वय गरी उक्त कार्यक्रम आयोजना गरिएको सरोकार केन्द्रले जानकारी दिएको छ ।
सरोकार केन्द्र ताप्लेजुङमा जन्म भई पेशा व्यवसायको सिलसिलामा राजधानी उपत्यका गई बसोबास गर्नेहरुले २०६२ सालमा स्थापना गरेको संस्था हो । सुरुमा यस्तो संस्था सरोकार केन्द्र मात्रै रहेकोमा अहिले भने ताप्लेजुङ समाज नेपाल समेत स्थापना भई क्रियाशिल रहेको छ । सरोकार केन्द्र र समाज दुबैले ताप्लेजुङका आवश्यकता,सम्भावना र समस्याहरुको पहिचान गरी समस्या समाधान गर्न पैरवी तथा अगुवाई गर्ने सहितका कार्य गर्दै आएका छन् । नयाँबर्ष २०८३ लाई ताप्लेजुङको अद्धितीय महत्व बोकेका स्थलहरुमा सर्मपण गरी अवलोकन भ्रमणका माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने हिसावले कार्यक्रम आयोजना गरिएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङको भनाई छ ।