ताप्लेजुङका दुर्गम बस्तीहरुमा परीक्षण गरिएकामध्ये चारप्रतिशत सम्म मोतियाबिन्दुका बिरामी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १८ । ताप्लेजुङको दुर्गम हिमाली बस्तीहरुमा परीक्षण गरिएकामध्येमा ४ प्रतिशत भन्दा बढी मोतिया बिन्दुका रोगी फेला परेका छन् । फक्ताङलुङ गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको आँखाजाँच तथा प्रारम्भिक उपचार कार्यक्रम अन्र्तगत मोतियाबिन्दुका बिरामी खोजी गर्ने क्रममा मोतियाबिन्दुको शल्यकृया गर्नुपर्ने बिरामी भेटिएका हुन् । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङका अनुसार फक्तालुङ गाउँपालिका ९ बस्तीहरुमा गरिएको आँखाजाँच तथा प्रारम्भिक उपचारका क्रममा बिहीबार सम्म १ हजार ६ सय ५२ जना आँखाका रोगीको परीक्षण गरिएको छ । परीक्षण गरिएकाध्ये ६७ जना मोतियाबन्दु भएका बिरामी भेटिएका छन् ।
मोतियाबिन्दु भएका बिरामीको नेपालका बरिष्ठ बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुईटको नेतृत्वमा रहेको टोलीले फागुन २० र २१ गते गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यकृया तथा उपचार गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लावुङका अनुसार पालिकाको दुर्गम गाउँ घुन्सामा ३४ जनाको आँखा परीक्षण गर्दा १ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । यस्तै ग्याब्लामा २७ जनाको परीक्षण गर्दा १ जना,ओलाङ्चुङगोलामामा ७२ जनाको परीक्षण गर्दा ४ जना,इलाडाँडामा १६ जनाको परीक्षण गर्दा २ जना,हान्द्रुङमा १ सय ९४ जनाको परीक्षण गर्दा ८ जना,छिरुवामा ४ सय ८० जनाको परीक्षण गर्दा १५ जना र सिँवामा ८ सय २ जनाको परीक्षण गर्दा ३६ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् ।
मानिसको जन्मसँगै प्राकृतिक रूपमा आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ । यसरी आँखाको भित्री भागमा हुने पारदर्शीता लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा मोतियाबिन्दुको समस्या हुन्छ । उदाहरणका लागि क्यामराको लेन्स भनेजस्तै हाम्रो आँखामा पनि प्रकृतिक एउटा लेन्स हुन्छ । त्यो लेन्स पारदर्शी हुन्छ । पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ । त्यसको काम बहिरबाट आएको प्रकाश छिर्न दिनु हो । लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतियाबिन्दु भनिन्छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रकमा बरिष्ठ नेत्र सहायक काजीमान गुरुङका अनुसार मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्ने भएपनि पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नुपर्ने उहाँले बताउनुभयो ।

फोटो ः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका बिभिन्न बस्तीमा आँखा जाँच गर्न आएका बिरामीहरु ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts