|

ताप्लेजुङमा चैत १४ देखि १८ गते सम्म दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ९ । आउँदो चैत १४ देखि १८ गते सम्म ताप्लेजुङको फुङलिङमा दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला आयोजना हुने भएको छ ।
नेपालका मुख्य तथा प्रदेश १ का १४ जिल्लाका पहिचान झल्कने व्यवसायिक उत्पादन सो औद्योगिक कृषि तथा पर्यटन मेलाका मुख्य आर्कषण हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु कार्यालय ताप्लेजुङ मुख्य आयोजक रहने मेलाका मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड,फुङलिङ नगरपालिका सहितका ताप्लेजुङका सबै स्थानीय तह र १ नं प्रदेशको खेलकुद विकास बोर्ड रहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार मेलामा परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन,मौलिक खाद्य महोत्सव,अन्तराष्ट्रिय कञ्चनजंघा फोटो प्रर्दशनी,ताप्लेजुङ जिल्लाका पर्यटकिय गन्तव्यको जानकारी र कृषि,पशु,वन तथा जडिबुटीजन्य उत्पादनको प्रदर्शनी हुनेछन् । यस्तै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर कविता प्रतियोगिता र दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने भएका छन् ।
महोत्सवका बेला होमस्टे प्रवद्र्धन कार्यक्रमलाई बिशेष प्राथमिकता दिईने र नव आगन्तुकलाई होमस्टेमा खानेबस्ने प्रवन्ध गर्ने आयोजक संस्थाको तयारी रहेको छ । यस्तै दोस्रो डोको क्यारी रन प्रतियोगिता आयोजना गरिने भएको छ ।
डोको क्यारी रनमा प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । कविता प्रतियागितामा प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः५ हजार,३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता समेत हुने छ । डोको बुन्ने प्रतियोगिताका बिजेताले १० हजार,उजबिजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने भएका छन् । यस्तै टपरी बुन्ने प्रतियोगितामा प्रथम हुनेले २ हजार,द्धितीय हुनेले १ हजार र तृतीय हुनेले नगद ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
गत जेठ २६ गते देखि ३० गते सम्म ताप्लेजुङमा पहिलो औद्योगिक तथा पर्यटन मेला आयोजना भएको थियो । घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइले स्थानीय उत्पादनप्रति आर्कषण बृद्धि,रोजगारी सृजना,उद्यम विकास र उत्पादनको बजारीकरण गर्ने प्रमुख उद्देश्यका साथ औद्योगिक तथा पर्यटन मेला आयोजना गर्न लागिएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts