फागुन १० गते देखि तेल्लोकमा हुने भनिएको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता तत्काललाई स्थगित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ६ । सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा फागुन १० देखि हुने भनिएको ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तत्काललाई स्थगित भएको छ ।
जिल्ला खेलकुद विकास समितिले बिशेष कारणले यसअघि फागुन १० देखि १३ गते सम्म हुनेगरी यसअघि तय भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको जनाएको छ । जिखेविस अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूले तीनबुदें अनुरोध सहित यसअघि तय भएको प्रतियोगिताको कार्यक्रम तत्काललाई स्थगित गरिएको बताउनु भएको छ । मावोद्धारा जारी विज्ञप्तिमा राष्ट्रपति रनिङ शिल्डको पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्न बाँकी पालिकालाई तत्काल अन्तरबिद्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरी प्रतिबेदन खेलकुद विकास समितिमा पठाईदिन अनुरोध गरिएको छ । प्रतियोगिता सम्पन्न गराई सकेका स्थानीय तहले ५ दिन भित्र प्रतियोगिता सम्पन्नताको प्रतिबेदन खेलकुद विकास समितिमा पठाइदिन समेत मावोले आग्रह गर्नु भएको छ । यस्तै यसअघि पालिका स्तरीय प्रतियोगिता सम्पन्न भई जिल्ला स्तरीय प्रतियागिताका लागि छनौट भएका खेलाडीलाई जिल्ला स्तरीय प्रतियोगिताको अर्को मिति तोकिएर तयारी अवधि पूरा नभईञ्जेल सम्म निरन्तर बन्द प्रशिक्षण र अभ्यासमा राख्न समेत जिल्ला खेलकुद विकास समितिले आग्रह गरेको छ ।
यसअघि जिल्ला खेलकुद विकास समितिले फागुन १० देखि तेल्लोकमा जिल्ला स्तरीय प्रतियोगिता हुने भन्दै त्यसका लागि खेल बिधाको सूची समेत सार्वजनिक गरेको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधी पौडेलका अनुसार प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,मार्सल आर्ट र उसुतर्फ छात्र÷छात्राका प्रतिश्पर्धा हुने भएका छन् । एथलटिक्सतर्फ छात्र÷छात्राका १ सय मिटर,२ सय मिटर,४ सय मिटर,८ सय मिटर,१ हजार ५ सय मिटर र ३ हजार मिटर दौड सञ्चालन हुने छ । यस्तै रिले दौडतर्फ छात्र छात्रा दुबैका ४×१०० सय मिटर र ४×४०० मिटर दौड सञ्चालन हुने भएको छ । उफ्रने र फ्याक्ने फिल्डको खेलमा छात्रतर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ८ सय ग्राम र सटफुट १२ पाउण्ड र छात्रातर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ६ सय ग्राम र सटफुट ८ पाउण्डका खेल हुनेछन् । यस्तै मार्सल आर्टतर्फ कराँतेमा छात्रका ४२ किलोग्राम,४७ किलोग्राम र छात्रातर्फ ४० किलोग्राम,४५ किलोग्राम र ५० किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने छ । कराँतेमा छात्र छात्रा दुबैको काता एकल प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । तेक्वान्दोमा छात्रतर्फ ४५ किलोग्राम,४८ किलोग्राम र ५१ किलोग्राम तथा छात्रातर्फ ४२ किलोग्राम,४४ किलोग्राम र ४६ किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने भएको छ । उसुतर्फ छात्र छात्राका चाङ्क्वान,नानक्वान र ताईजीक्वानका खेल हुनेछन् ।