| |

जेष्ठ नागरिक अक्षयकोष स्थापना गर्दै फुङ्लिङ नगरपालिका

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने भएको छ । एकसय वर्ष माथिका जेष्ठ नागरिकको उपकार तथा हितका लागि नगरपालिकाले उक्त अक्षयकोष स्थापना गर्ने भएको हो ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आगामी आर्थिक वर्ष २०८०÷८१ बाट जेष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने बताउनुभयो । नगर प्रमुख मादेनका अनुसार नगरपालिकाभित्र बसोबास गर्दै आएका सय वर्ष पूरा हुने जेष्ठ नागरिकका लागि प्रतिव्यक्ति पाँच लाख रुपियाँका दरले अक्षयकोष स्थापना गरिने भएको छ । जेष्ठ नागरिकको उपकार तथा हितका लागि अक्षयकोष स्थापना गर्न लागिएको बताइएको छ ।
नगरपालिकाले स्थापना गर्ने जेष्ठ नागरिक अक्षयकोषको रकम सय वर्ष पूरा भएका जेष्ठ नागरिकलाई प्रदान गरिने नगरप्रमुख मादेनका स्वकीय सचिव अञ्चल गुरुङले बताउनुभयो । अक्षयकोषमा नगरभित्रका सय वर्ष पुग्ने जेष्ठ नागरिकको सङ्ख्याअनुसार पाँच लाख रुपियाँको कोष जम्मा हुने र सो कोषको ब्याजबाट प्राप्त हुने रकम जेष्ठ नागरिकलाई वार्षिक रुपमा प्रदान हुने गुरुङले जानकारी दिनुभयो । जेष्ठ नागरिकले पाएको रकम औषधोपचार, लत्ताकपडा, खानपानलगायत आफ्नो आवश्यकता र इच्छाअनुसार खर्च गर्न सक्ने उहाँको भनाइ छ ।
यसैबीच फुङ्लिङ नगरपालिकाले नगरभित्रका ७० वर्ष माथिका दुईसय ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको हो । जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच साथै निःशुल्क चस्मा तथा औषधि वितरण गरी सम्मान गरिएकोे नगरपालिकाले जनाएको छ ।
जेष्ठ नागरिकमध्ये सबैभन्दा बढी उमेका एकजना महिला र एक पुरुषलाई विशेष सम्मान गरिएको फुङ्लिङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार फुङ्लिङ नगरपालिका–३ की १०४ वर्षीया सञ्चमति पालुङ्वा लिम्बू र वडा नं १० का ९९ वर्षीय मानबहादुर तामाङलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ । जेष्ठ नागरिकलाई नगरप्रमुख मादेन र उपप्रमुख भीमादेवी ओझा लगायतले सम्मान गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts