| | |

आईएमईबाट लुटिएको थप १६३ तोला सुनको गहना फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ५ । ताप्लेजुङमा प्रहरीले करिव दुई किलोग्राम अर्थात एकसय त्रिसट्ठी तोला सुनको गरगहना फेला परेको छ । तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार फुङ्लिङ नगरपालका–४ स्थित छुट्टाछुट्टै दुई स्थानबाट लुकाइराखेको अवस्थामा सुनका गहना फेला पारिएको हो । बजार नजिकै जङ्गलमा बट्टा र बोरामा पोको बनाएर लुकाई राखेको अवस्थामा शुक्रबार बिहान एकसय १७ तोला र दिउँसो ४६ तोला सुनको गहना फेला पारेको प्रनाउ राईले जानकारी दिनुभयो ।
शुक्रबार फेला परेकोसमेत आईएमईबाट लुटिएको कुल तीनसय छ तोला सुनको गरगहना प्रहरीले फेला पारेको छ । यसअघि आईएमई लुटपाटमा संलग्नहरु पक्राउ गर्दा उनीहरुको साथबाट प्रहरीले एकसय ४३ तोला सुनको गहना बरामद गरेको थियो । त्यस्तै छ लाख १३ हजार तीनसय ४० रुपियाँ नगदसमेत बरामद भएको थियो ।
आईएमई अर्थात कञ्चन मनी ट्रान्सफरका सञ्चालक अमरकुमार श्रेष्ठको जाहेरीअनुसार अब ४२ तोला मात्र सुनको गरगहना फेला पर्न बाँकी देखिन्छ । श्रेष्ठले तीनसय ४८ तोला सुनको गरगहना र ११ लाख ६३ हजार दुईसय ५० रुपियाँ नगद लुटिएको भनी प्रहरीमा दिएको जाहेरीमा उल्लेख गर्नुभएको छ । यता हाल फेला पर्न नसेको सुनको गरगहना तथा नगदबारे सुक्ष्म अनुसन्धान र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सदरमुकाम फुङ्लिङको मुख्य बजार वीरेन्द्रचौकमा रहेको आईएमईमा गत असोज १७ गते दसैँको अष्टमीको दिन बिहानको समय करिव ९ः३० बजेतिर लुटपाट गरिएको थियो । प्रहरीका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमईमा कार्यरत एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर चारजनाको समूहले योजनाबद्ध लुटपाट मच्चाएका थिए । दसैँको विदा भइसकेको समयमा बजार र मानिसको चहलपहल शून्य भएको मौकी छोपी आईएमई लुटपाट गर्ने समूहका चारैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुटपाटमा सङ्लग्न रहेको आरोपमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र अर्जुनधारा नगरपालिका–१० का मणिराज पर्तेल तथा हाल पाँचथर फिदिम नगरपालिका–१ बस्दै आएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका २७ वर्षीय गजेन्द्र लिम्बू पक्राउ परेका छन् । लुटपाट भएकै दिन राजायन्द्र पक्राउ परेका थिए भने अन्य पनि एकसाता नबित्दै पक्राउ परेका थिए । पक्राउ परेकामाथि अनुसन्धानको क्रम चलिरहेको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts