पालिकाको भवन बनाउन मैवाखोलाका स्थानीयले निःशुल्क दिए डेढ करोड बढी मूल्यपर्ने जग्गा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २८ । पालिकाको प्रमुख प्रशासकीय भवन बनाउने प्रयोजनका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पाँचजना दानवीरले डेढ करोड बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार मैवाखोला गाउँपालिका वडा नं ३ कोलडाँडामा स्थानीय पाँचजनाले एक करोड ६० लाख रुपैंया मूल्य बराबरको २० रोपनी जग्गा पालिकाको नाममा निःशुल्क रजिष्ट्रेशन पास गरिदिनु भएको हो । मैवाखोला गापा वडा नं ३ का नन्दकुमार फागो चोङ्वाङ, धनमाया लिम्बुनी, धनरानी लिम्बू र देवीकुमार लिम्बूले २० रोपनी जग्गा गाउँपालिकालाई प्रदान गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । ‘अहिले प्राप्त भएको जग्गामा भवन निर्माण गर्दा हालको साँघुपाटी बजार सुक्छ भन्ने भ्रमहरु पैदा गराई व्यावसायीहरुलाई आतंकित बनाउने कामहरु पनि भए’अध्यक्ष वनेमले भन्नुभयो, ‘तर, मैवाखोलाका सचेत नागरिकहरुले यस्ता भ्रमहरुको विश्वास नगरी मैवाखोला गाउँपालिकालाई समर्थन गर्नुभएको प्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछु ।’

हालको साघुपाटी बजार क्षेत्रलाई जीवित र ब्यवस्थित गर्न आफू र गाउँपालिका सदैब लागि पर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । यहिँ भदौ २३ गते प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जग्गादाताले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउन मञ्जुर भएको र पालिकाले समेत जग्गा निःशुल्क प्राप्ति गर्ने निर्णय गरिसकेको भन्दै पालिकाको नाममा रजिष्ट्रेशन पासका लागि मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts