नयाँ आर्थिक बर्षको सुरु महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ५ । चालू आर्थिक बर्षको सुरुआति महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्वन्धबिच्छेदको मुद्दाले‘रेकर्ड’कायम गरेको छ ।

चालू आर्थिक बर्ष २०७९।०८० को पहिलो सुरुआति महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिव ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन् । ति मध्ये २४ थान मुद्दा सम्वन्धबिच्छेदका रहेको अदालतले जनाएको छ । अघिल्लो आवबाट चालू आवमा १ सय १० थान मुद्दा जिम्मेवारी सरी आएका छन् । अघिल्लो आवबाट सरकारवादी ९ थान मुद्दा जिम्मेवारी सरी आएकोमा ४ थान जबरजस्ती करणी सम्वन्धी रहेका थिए । चालू आवको साउन महिना भित्रमा ८ थान सरकारीवादी मुद्दा दर्ता हुन आएकोमा ४ थान जबरजस्ती करणी सम्वन्धी रहेको अदालतले जानकारी दिएको छ । सम्वन्ध बिच्छेदलाई पारिवारिक बिग्रहको रुपमा लिने गरिन्छ ।

सम्वन्धबिच्छेद श्रीमान–श्रीमती बीचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो । अहिले परिस्कृत रुपमा सम्बन्धबिच्छेद भन्ने गरिन्छ । अंग्रेजी ‘डिभोर्स’भनिने यो शब्द अहिले नेपालीमा पनि यहिँ शब्द बढी प्रचलनमा रहेको पाईन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्वन्धबिच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ । कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्वन्धबिच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

यस्तै कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा सम्वन्धबिच्छेद गर्न पाउँछिन् । यस्तै पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि सम्वन्धबिच्छेदको प्रकृया बढ्ने कानुनी आधार सृजना हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts