| |

अलैँचीको मूल्य घटेर मनको ९८ हजारमा आइपुग्यो

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।
साधारण अर्थात चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङ्लिङ बजारका व्यवसायी भद्रबिर रेग्मीका अनुसार अलैँचीको मूल्य घट्दै–घट्दै मंगलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिव दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको रेग्मीले बताउनुभयो ।
अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीका अनुसार सोमबार फुङ्लिङ बजारमा प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो । एक दिनपछि मंगलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो । अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि उहाँको भनाइ छ ।
हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देश बाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताउनुभयो । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर हुने उहाँको भनाइ छ ।
ताप्लेजुङमा उत्पादन हुने अधिकांस अलैँची किसानले बेचिसकेका छन् । स्थानीय व्यापारीका अनुसार करिव ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरी सकेका छन् । अहिले केही व्यापारी तथा किसानले मात्र मूल्य अझै बढ्नसक्ने आसामा अलैँची थन्क्याएर राखेका बताइएको छ । यता लामो समयपछि यसवर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका छन् । हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी झस्किएका छन् ।
ताप्लेजुङमा प्रमुख नगदेबालीको रुपमा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लाका किसानले कुल चार हजार ३०४ हेक्टर क्षेत्रफलमा अलैँची खेती लगाएका छन् । उक्त क्षेत्रफल बराबरको खेतीबाट यसवर्ष दुई हजार ५४०.६५ मेट्रिकटन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्यांक रहेको छ ।

Similar Posts