फक्ताङलुङले भन्यो ः नाका बन्द हुँदा स्थानीय बासिन्दामा स्थानान्तरणको जोखिम बढ्यो,सहजीकरणको माग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३१ । चारबर्षदेखि बन्द उत्तरी ताप्लेजुङमा रहेको सीमावर्ती टिपताला नाका खुलाई सीमा क्षेत्रका नेपाली बासिन्दाको दैनिकी सहज बनाइदिने कार्यको सहजीकरण गरिदिन फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ ।

कोभिड–१९ महामारीको सुरुआतसंगै नाका बन्द रहेको र नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङचुङगोला,फले,याङ्मा र घुन्सा सहितका बासिन्दाहरुले आफ्नो उत्पादन निर्यात र उपभोग्य बस्तु आयात गर्न नपाएको पालिकाले औंल्याएको छ । गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ,गलैंचा,छूर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताउनु भएको छ । नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य बस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाई भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ । सीमावर्ती क्षेत्रका अधिकाँस बासिन्दा खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु आयात–निर्यातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारमै निर्भर रहने गरेको र नाका बन्द भएपछि आयात–निर्यात ठप्प भइ स्थानीयको दैनिकी कष्टकर बनेको पींडा बुझि नाका खुलाउने कार्यको सहजीकरणका लागि पालिकाले प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको हो ।

उत्तरी सीमावर्ती क्षेत्रमा सदरमुकाम फुङलिङसंगको सडक सञ्जाल समेत जोडिई सकेको छैन । नाका सञ्चालन नहुँदा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य बस्तुको आर्पूति गर्दा ढुवानी खर्च खरिद गरेको मूल्य भन्दा तीनगुणा भन्दा बढी महंगो पर्न जाने अवस्था समेत गाउँपालिकाले औंल्याएको छ । नाका सञ्चालन नहुँदा बिरामी तथा आपतकालिन अवस्थाका मानिसलाई सदरमुकाम फुङलिङ सम्म पुग्न तीनदिन सम्म लाग्ने रहेको भन्दै पालिकाले नाका सञ्चालनमा ल्याउने वातावरणका लागि सहजीकरण गरिदिन प्रशासनलाई अनुरोध गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts