सम्मान र संरक्षणको सन्देश दिदैं ताप्लेजुङमा जेष्ठ नागरिक प्रति हुने दुरव्यहार बिरुद्धको दिवस मनाइयो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १ । सम्मान,स्वास्थ्य परीक्षण,स्वास्थ्यमा हुने समस्या र समाधानका उपाय बारे जानकारी प्रेषित गर्दै ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधवार जेष्ठ नागरिक प्रति हुने दुरव्यहार बिरुद्धको १७ औं दिवस मनाइएको छ ।

फुङलिङ नगरपालिकाको आयोजनामा यो दिवस मनाइएको हो । दिवसमा अवसरमा जेष्ठ नागरिकहरुलाइ सम्मान,स्वास्थ्य परीक्षण,स्वास्थ्य सचेतना र जेष्ठ नागरिकप्रति परिवारका सदस्य देखि राज्यका निकायको भूमिकामा केन्द्रित रहेर कार्यपत्र प्रस्तुति समेत भएको फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सीता गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुरेन्द्र लिम्बू र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेले मानव स्वास्थ्य र आँखा स्वास्थ्यको क्षेत्रमा देखिने समस्या र समाधानका उपाय बारे बताउनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक प्रति हुने दुरव्यहार,दुरव्यहार रोक्नका लागि राज्यका निकाय देखि परिवारका सदस्य सम्मको भूमिका समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । जेष्ठ नागरिक समाज ताप्लेजुङका अध्यक्ष टामन सिग्देलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दिवसकै अवसर पारेर ताप्लेजुङ जिल्ला अस्पताल,फुङलिङ नगरपालिका र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रबाट जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र आँखा परीक्षण तथा औषधि बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले जेष्ठ नागरिक अनुभव र सीपका भण्डार भएकोले सीप र अनुभवको उचित प्रयोगमा नगपालिकाले उच्च महत्व दिने बताउनुभयो । नगर उपप्रमुख भीमादेवी ओझाले जेष्ठ नागरिक समाजको सम्पत्ति भएको बताउँदै जेष्ठ नागरिकको संरक्षणमा राज्यका अंग र परिवारका सदस्यको भूमिका सबैभन्दा बलियो हुने बताउनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले हिजोका युवापुस्ता आजका जेष्ठ नागरिक र आजको युवापुस्ता भोलीका जेष्ठ नागरिक हुने भएकोले जेष्ठ नागरिकलाइ दुरव्यवहार नभइ असल संस्कार सहितको संरक्षण जरुरी रहेकोमा जोड दिनुभयो । जेष्ठ नागरिक भनेको जीवनको उत्तरार्धमा पुगेको व्यक्ति हो । यसलाइ एक प्राकृतिक अवस्थाको रुपम लिने गरिन्छ ।

जेष्ठ नागरिक ऐन २०६३ ले ६० बर्ष उमेर पूरा भएको नागरिकलाइ जेष्ठ नागरिक मानेको छ । जेष्ठ नागरिकले शारीरिक,मानसिक तथा भावनात्मक,यौनजन्य,आर्थिक र तिरस्कृत दुरव्यवहार भोग्दै आएका छन् । जेष्ठ नागरिकलाइ सामाजीकरण गर्ने,उचित सम्मान गर्ने गराउने संस्कृतिको विकास गर्ने,जेष्ठ नागरिकप्रति राम्रो व्यवहार गर्नेलाइ सम्मान र हेलाहिची गर्नेलाइ सजायको व्यवस्था गर्ने,परिवारका सबै सदस्यलाइ जेष्ठ नागरिकप्रति सम्मान गर्न सिकाउने,हैसियत अनुसार जेष्ठ नागरिकलाइ खुसी जीवन यापनको व्यवस्था गर्ने,सुख–दुःखका कुरा सुनिदिने र जेष्ठ नागरिकको अनुभव लिने,सम्मानजनक भाषा प्रयोग गर्ने,जेष्ठ नागरिकका राम्रा कुरालाइ हौसला दिने,असहमतिका कुरालाइ धैर्य गरी अनुशासनका साथ यस्तो पो हुन्छ होला त भनेर सम्झाउने,सभा सम्मेलनजमा सहभागी गराउने जस्ता कार्यले जेष्ठ नागरिकप्रतिको दुरव्यवहार न्यूनीकरण हुँदै जाने बिज्ञहरुले बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts