निर्माणको कामले गति नलिनुमा डिई बिष्टको ठम्याई: नदीजन्य पदार्थ,दक्ष कामदार र उचित स्रोतको अभाव प्रमुख कारण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १० । तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका डिभिजनर ईञ्जिनियर सिंहबहादुर बिष्टले सडकसहितका पूर्वाधारका योजनाका लागि नदीजन्य पदार्थको अभाव प्रमुख कारण औंल्याउनु भएको छ ।

गुणस्तरीय नदीजन्य पदार्थ(ढुङ्गा,गिटी र बालुवा),दक्ष कामदारको अभाव र आवश्यक स्रोत सुनिश्चितताको अभावका कारण पूर्वाधारका कामले भनेजस्तो गति लिन नसकेको बिष्टको भनाई छ । तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयको नियमनमा रहेका पूर्वाधारका मुख्य कामहरुलाई गतिदिन आफुहरु हरदम लागिरहेको बताउँदै बिष्टले गुणस्तरीय नदीजन्य पदार्थ(ढुङ्गा,गिटी र बालुवा)को सुनिश्चितताका लागि स्थानीय तहले अग्रसरता देखाउँदा आन्तरिक स्रोत समेत बलियो हुने बिष्टले बताउनुभयो । नदीजन्य तथा खानीजन्य पदार्थको नियमन र व्यवस्थापनको दायित्व स्थानीय सरकारको हुने भएकोले आफ्नो क्षेत्रमा रहेका नदीजन्य पदार्थको भौगर्भिग अध्ययन गरी गुणस्तरीय नदीजन्य पदार्थ बिक्री प्रयोजनमा ल्याउँदा स्थानीय तहको आन्तरिक स्रोत बृद्धिमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ । पूर्वाधारका काममा चाहिने ढुङ्गा,गिटी र बालुवा योजना सञ्चालन क्षेत्रभन्दा धेरै टाढाबाट आयात गरी काम गर्नुपर्ने अवस्था रहेको औंल्याउँदै उहाँले नदीजन्य पदार्थको उपलब्धता हुने स्थानीय तहले स्थानीय स्तरमै गुणस्तरीय ढुङ्गा,गिटी र बालुवा पाउन सक्ने सम्भावनाका स्रोतहरुको खोजी गर्दा राम्रो हुने बताउनुभयो । अहिले ताप्लेजुङमा जलविद्युत सहितका थुप्रै योजना सञ्चालनमा रहेकोले गुणस्तरीय नदीजन्य पदार्थ स्थानीय स्तरमै पाउन सक्ने अवस्थामा टाढाबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने उहाँको बुझाई छ ।

ढुङ्गा,गिटी र बालुवा उत्खनन् तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ अनुसार चट्टान,स्लेट, ढुङ्गा,गिटी र बालुवा जस्ता साधारण निर्माणमुखी पदार्थको नियमन तथा नियन्त्रणको दायित्व स्थानीय सरकारलाई छ । मापदण्डको प्रस्तावनामै विकास निर्माणका कार्यहरुमा ढुङ्गा,गिटी र बालुवा लगायतका नदीजन्य खानीजन्य पदार्थको अभाव हुन नदिई सहज आपूर्ति गर्न,यस्ता निर्माण सामग्रीको अनियन्त्रित दोहनलाई निरुत्साहित गरी दिगो उपयोग गर्न र यसबाट प्राप्त हुने राजश्व संकलनलाई व्यवस्थित गर्न नगरपालिका वा गाउँपालिकालाई ढुङ्गा,गिटी र बालुवा एवम् माटोजन्य पदार्थको बिक्री गर्ने अधिकारको व्यवहारिक प्रकृया निर्धारण गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले ढुङ्गा,गिटी र बालुवा उत्खनन् तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ जारी गरेको भनिएको छ । डिई बिष्टका अनुसार १० किलोमिटर कालोपत्रे दूरीको बहानन्दे–दोभान सडकका लागि निर्माण कम्पनी एपेक्सले सुभाङखोलाबाट ढुङ्गा,गिटी र बालुवा ल्याउनु परेको हो । उक्त दूरीमध्ये ४.५ किमी सडक कालोपत्रे भएको र बाँकी ५.५ किमी सडक कालोपत्रे गर्ने क्रममा रहेको छ । ५ करोड रुपैयाँ बजेट चाहिनेमा चालु आर्थिक बर्षमा १ करोड रुपैयाँ बजेट भएपनि निर्माण कम्पनीलाई आफैंले बजेटको निश्चित गरिदिने संकल्प गरेर कामलाई तीव्रता दिन आग्रह गरिएको बिष्टले बताउनुभयो ।

तमोर करिडोर अन्तरगत सुभाङखोला देखि दोभानसम्मको १ सय २१ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतीको कार्यमध्ये ५७ किलोमिटरको कार्य भइरहेको,३२ किलोमिटरको ठेक्का लागेको र इलाडाँडा देखि ओलाङचुङगोलासम्मको १३ किलोमिटर सडकका लागि स्रोत सुनिश्चित गर्न विभागमार्फत अर्थ मन्त्रालयमा अनुरोध गरिएको बिष्टले जानकारी दिनुभयो । सडक सहितका पूर्वाधारका योजनाका लागि स्रोतको अभाव हुन नदिन योजना कार्यालयकोतर्फबाट विभागमार्फत सम्वन्धित निकायमा बारबार तागेता भइरहेको उहाँको भनाई छ । चालु आर्थिक बर्षमै १ सय २ मिटर लामो लिम्बूनी पुल र ३५ मिटर लामो ताम्मावाखोला पुल निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको बिष्टले बताए । सुकेटार–काफ्लेपाटीसम्मको ११ किलोमिटर लामो कालोपत्रे गर्ने कार्यको ४० प्रतिशत काम पूरा भएको बताउँदै उहाँले जेठ अन्तिम सम्ममा देखिने गरेको प्रगतिको संकेत आफुहरुले देखाउने बचन दिनुभयो । १० किलोमिटर लामो निघुरादिन–हाङपाङ सडकको निर्माण कार्यमा समेत सडक योजना कार्यालयकोतर्फबाट निर्माण कम्पनीलाई चेतावनी सहितको खबरदारी भइरहेको बिष्टले जानकारी दिनुभयो । १० किलोमिटर लामो माछापोखरी–दगुर्ने कालोपत्रे सडकका बारेमा देखिएको समस्या हल गरी यसैसाताबाट काममा प्रगति दिनेगरी कार्यालयले कार्ययोजना बनाएको बिष्टले बताउनुभयो ।

Similar Posts