माओवादी केन्द्रको प्रदेश कमिटीको पत्रका आधारमा जिसस प्रमुखका उम्मेदवार शंकरको उम्मेदवारी फिर्ता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २९ । माओवादी केन्द्रको ताप्लेजुङ जिल्ला समितिकै भाषामा‘यसअघि स्थानीय तहका लागि बितरित सिफारिसको दुरुपयोग’गरी जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएको भनिएका गंगाराम शंकरको उम्मेदवारी फिर्ता भएको छ ।

माओवादी केन्द्रको १ नं प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ(मिक्सो)द्धारा हस्ताक्षरित पत्रका आधारमा शंकरको उम्मेदवारी फिर्ता भएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले जानकारी दिनुभयो । अब जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनतर्फ नेकपा एसका छिरिङ शेर्पा र एमालेबाट निवर्तमान जिसस प्रमुख घनेन्द्र मादेनको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तहका लागि बितरित सिफारिसको दुरुपयोग गरी शंकरको उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रको जिल्ला समन्वय समितिले बिज्ञप्तीमार्फत जनाइसकेको छ । माओवादी केन्द्रको भागमा परेको जिसस प्रमुख र १ जना सदस्यका लागि १ नं प्रदेश कमिटीले क्रमशः फक्ताङलुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पा र सिरिजंगा गाउँसभा सदस्य सन्तोष राईको सिफारिस पत्र पठाएको र शंकरको उम्मेदवारी दर्ता गर्दा सिफारिसपत्रको दुरुपयोग भएको भन्दै माओवादीको जिल्ला समन्वय समितिले बिज्ञप्ती निकालेसंगै प्रदेश कमिटीले शंकरको उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएको थियो ।‘जसको हस्ताक्षर सहितको पत्रका आधारमा उम्मेदवारी दर्ता भयो,उहाँकै सिफारिस पत्रका आधारमा फिर्ताको निर्णय भएको छ’मुख्य निर्वाचन अधिकृत राउतले भन्नुभयो । पार्टीको पत्रका आधारमा शंकरको उम्मेदवारी फिर्ता र आधिकारिक उम्मेदवार भनेर दावी गरिएका मिङ्माडण्डुको उम्मेदवारी दर्ता नै नभएसंगै गठबन्धन दलबीच नेकपा माओवादी केन्द्रले पाउने गरी सहमति भएको जिल्ला समन्वय समितिको प्रमुख पद माओवादीले गुमाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस उपप्रमुखमा नेपाली काँग्रेसका कृष्ण लिङखिमको मात्र उम्मेदवारी परेको छ । दलित वा अल्पसंख्यकबाट जाने १ सदस्यमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका १ र नेकपा एमालेका १ जना गरी २ जनाको उम्मेदवारी दर्ता भएको छ । ३ जना महिला सदस्य कोटामा गठबन्धनतर्फ काँग्रेसका ३ र एमालेका १ गरी ४ जनाको उम्मेदवारी परेको छ । खुल्ला ३ सदस्यमा गठबन्धतर्फ एमालेका २ तथा गठबन्धनतर्फ माओवादी केन्द्रका १,नेकपा एसका १ र नेपाली काँग्रेका १ गरी ५ जनाको उम्मेदवारी परेको छ । १८ जनाले मतदाता रहेको जिल्ला समन्वय समितिको जेठ ३१ गते हुने निर्वाचनमा एमाले र काँग्रेसका समान ६–६,माओवादी केन्द्रका ५ र नेकपा एसका १ जना मतदाता रहेका छन् । यसअघि समन्वय प्रमुख र १ जना सदस्य माओवादी केन्द्रले,उपप्रमुख नेकपा एसले र ६ जना सदस्य नेपाली काँग्रेसले पाउने गरी गठबन्धन दलहरु बीच सहमति बनेपनि माओवादी केन्द्रकातर्फबाट शंकरको उम्मेदवारी दर्ता प्रकृया र गठबन्धन पक्षबीच यसअघि बनेको सहमतिमा बदलाव आएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts