नेतृत्व चयन गर्न ताप्लेजुङ जिससको निर्वाचन जेठ ३१ मा हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २४ । जिल्ला समन्वय समिति ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि जेठ ३१ गते निर्वाचन हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ ३१ गते निर्वाचन हुने गरी कार्यतालिका निर्माण गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ । २९ गते उम्मेदवारी फिर्ता र दावी बिरोधको सम्भावित कार्यसूची रहने बाँस्तोलाले जानकारी दिनुभयो । यस्तै ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ । ९ पालिका रहेको ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ जना मतदाता रहनुहुने छ ।

गठबन्धन दलहरुले समन्वय प्रमुख र एक सदस्य माओवादी केन्द्र,उपप्रमुख नेकपा एस र बाँकी ६ सदस्यीय काँग्रेसले पाउने गरी सहमतिको खाँका तयार गरेकोले गठबन्धन दलबीच कुनै समस्या नआए गठबन्धन पक्ष निर्वाचनमा बिजयी हुने अवस्था छ । १८ मध्ये काँग्रेस र एमालेको समान ६–६ मत,माओवादी केन्द्रको ५ र नेकपा एसको १ मत रहेको छ । समन्वय प्रमुखमा गठबन्धन पक्षबाट माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सचिवालय सदस्य मिङ्माडण्डु शेर्पा र उपप्रमुखमा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पाले उम्मेदवारी दिने निश्चित जस्तै भएको स्रोतले जनाएको छ । यद्यपी दुबै दलले उम्मेदवार बारे आधिकारिक निर्णय भने गरिसकेका छैनन् । एमालेले पनि निवर्तमान समन्वय प्रमुख घनेन्द्र मादेनको नेतृत्वमा उम्मेदवारी दिने तयारी गरिररहेको बुझिएपनि पार्टीबाट को उम्मेदवार बन्ने भन्ने बारेमा आधिकारिक निर्णय भने गरिसकेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts