ट्राफिक समस्या हटाउन तोक्मेडाँडा हाट व्यवस्थापन देखि एकतर्फी सवारी सञ्चालन सम्मको अवधारणा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २३ । ताप्लेजुङ सदरमुकाम फुङलिङको ट्राफिक समस्या हटाउन तोक्मेडाँडा हाट व्यवस्थापन र एकतर्फी रुपमा सवारी साधन सञ्चालनको अवधारणा अघि सारिएको छ ।

यात्रुबाहक सवारीका लागि तोक्मेडाँडाबाट ब्यारेक अगाडिको बाटो–न्युरोड–सडक कार्यालय–पराजुली चौक–पुरानो बैंक लाइन हुँदै तोक्मेबाट बाहिरिन सक्ने गरी योजना अघि सारिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले फुङलिङको ट्राफिक समस्या हटाउने उपाय बारे सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ । फुङलिङ नगरपालिकासंगको प्रत्यक्ष समन्वय र सवारी सञ्चालकहरुसंगको सहकार्यमा फुङलिङको ट्राफिक समस्या हटाउने उपायका लागि कार्ययोजना तयार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ बजारबाट बाहिरिने सवारी बाहिरिनेक्रममामात्र बजार भित्र प्रवेश गर्न सक्नेछन् भने भित्रने सवारीले तोक्मेडाँडाबाट ब्यारेक अगाडिको बाटो हँुदै न्युरोड–अक्सफोर्ड मोर्डल बोर्डिङ स्कुल माथिको बाटो–सडक कार्यालय–पराजुली चौक–पुरानो बैंक लाइनको सडक मार्ग प्रयोग गर्दै दोबाटो–तोक्मेडाँडा निस्कनुपर्ने गरीको एउटा अवधारणा अघि सारिएको छ । यसअघि तोक्मेडाँडाबाट बजारको भित्री भाग हुँदै सवारी आवागमन हुने गरेको थियो । दोबाटो भन्दा मुनिको(पुरानो कोप्चे क्षेत्र)मा भने चारपाङ्ग्रे सवारीको आवगमन रोक्ने या पराजुली चौक हुुँदै आएको सवारीलाइ कोप्चे क्षेत्र हुँदै दोबाटोबाट निस्कन दिने भन्ने बारेमा पनि सम्भाव्यता अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘यात्रुलाइ गन्तव्य सम्म पुग्न सहज पनि हुने र अव्यवस्थित ट्राफिक समस्या हल पनि हुने गरी ट्राफिक समस्या निवारणको उपाय खोजिने छ’जिल्ला प्रहरी प्रमुख डिएसपी राईले भन्नुभयो । उहाँले पुरानो बजार र साँघुरो सडकका कारण फुङलिङ बजारको ट्राफिक समस्या नसुल्झाइ नहुने अवस्थामा रहेको भन्दै यसका लागि सहयोग गर्न सरोकारवाला सबैपक्षसंग याचना समेत गर्नु भएको छ । तोक्मेडाँडा हाटभन्दा उभोंको सडक प्रयोग गनुपर्ने अवस्थाका कारण हाट व्यवस्थापनका लागि पनि योजना बुन्न थालिएको छ । नगरप्रमुख अमिर मादेनले तोक्मेडाँडा हाटमार्फत सागसब्जी सहितका दैनिक उपभोग्य बस्तु बिक्री गर्ने बिक्रेताहरुलाइ प्रभावकारी व्यवस्थापन गरेर सडकमार्गमा सहज ढंगले सवारी गुडाउने अवस्था सृजना गर्ने उपाय बारे छलफल भइरहेको जानकारी दिनुभयो ।‘के कसरी हाट व्यवस्थापन र सवारी आवागमन सुरक्षित र भरपर्दो बनाउन सकिन्छ भन्ने बारेमा अब बृहत्त छलफलमार्फत निचोडमा पुग्ने छौं’नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले डोकोमा बोकेर ल्याएको सागसब्जी चिसो भुँईमा बसेर बिक्री गर्नेहरुबाट नगरपालिकाले आगामी आर्थिक बर्षबाट कर नलिने भएकोले सातादिनको सट्टा दिनहुँ बिक्री खुल्ला गर्न सकिने बारे पनि नगरपालिकाले छलफल चलाइरहेको जानकारी दिनुभयो । तर यसबारे निश्कर्षमा भने नपुगेको मादेनले बताउनुभयो ।

हाट व्यवस्थापन र सवारी सञ्चालनको प्रकृयाका बारेमा नगरप्रमुख मादेन,जिल्ला प्रहरी प्रमुख राई सहितका सरोकारवालाले तोक्मे हाट क्षेत्रको स्थलगत निरीक्षण गरी प्रारम्भिक खाँका समेतको अध्ययन थालेका छन् ।‘हाट क्षेत्रलाइ पूरै व्यवस्थापन गरेर क्रेता र बिक्रेता दुबैलाइ सहज बनाउने नगरपालिकाको योजना छ’नगरप्रमुख मादेनले भन्नुभयो । प्रहरी प्रमुख डिएसपी राईले सदरमुकाम क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि थुप्रै विकल्प सहित सरोकारवालासंगको छलफलले निश्कर्ष निकाल्ने बिश्वास व्यक्त गर्नु भएको छ ।
फोटो ः तोक्मेडाँडा हाट व्यवस्थापन र फुङलिङ बजारको ट्राफिक समस्या सुल्झाउने उपायका बारेमा सम्भावित स्थलको निरीक्षण गर्दै नगरप्रमुख मादेन र जिल्ला प्रहरी प्रमुख राई ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts