| |

प्रेस सेन्टर ताप्लेजुङद्वारा कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कारका लागि दुईलाख रुपैयाँको अक्षयकोष स्थापना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ १३ । ताप्लेजुङमा क्रियाशिल पत्रकारहरुमध्ये वर्षभरी उत्कृष्ट र रचनात्मक पत्रकारितामा क्रियाशिल रहने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न प्रेस सेन्टर नेपाल ताप्लेजुङले दुईलाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा आयोजित कार्यक्रममार्फत प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापनाको घोषणा गरेको हो । प्रेस सेन्टर ताप्लेजुङका अध्यक्ष जीवन कालिकोटे‘सन्देश’ले दुईलाख रुपैयाँ राशीको अक्षयकोष स्थापना भएको घोषणा गर्दै अर्को वर्षबाट कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा पुरस्कार बितरण गरिने जानकारी दिनुभयो । ‘इच्छुक’ को सम्मानमा अक्षयकोष स्फुर्त रुपमा स्थापना भएको बताउँदै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाक ‘प्रयास’ले अक्षयकोषको डालो बृद्धिका लागि सबै इच्छुक व्यक्तिहरुका लागि इच्छा खुल्ला भएको जानकारी दिनुभयो ।

प्रेस सेन्टर ताप्लेजुङको बिहीबार बसेको बैठकले अक्षयकोष स्थापनाको औपचारिक निर्णय गरेको थियो । सेन्टरका जिल्ला सचिव दिलकुमार फेम्बो लिम्बूले अर्को वर्षबाट ताप्लेजुङलाई कार्यक्षेत्र बनाई पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाइ सम्मान गर्ने निर्णय भएको बताउनुभयो । स्मृति दिवसको अवसरमा प्रमुख अथितिको मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्माडण्डु शेर्पाले पत्रकारिता र साहित्य क्षेत्रमा कृष्ण सेन ‘इच्छुक’को योगदान अविस्मरणीय रहेको बताउँदै द्वन्द्वकालको समयमा राज्यले निर्मम तवरबाट हत्या गरेर नेपालको पत्रकारिता र साहित्य क्षेत्रका उज्वल नक्षत्र माथि प्रहार गरेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त पालुङ्वा, नेपाल प्रेस युनियनका प्रतिनिधि तरुण भारती लगायतले कृष्ण सेन ‘इच्छुक’ र पत्रकारिता क्षेत्रको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक बिरु हाङ्वाङ, फुङलिङ नगर इञ्चार्ज तथा फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख बमबहादुर भट्टराई(तारा), फुङलिङ नगर कमिटी अध्यक्ष गंगाराम शंकर, पत्रकार महासंघ प्रदेश १ सदस्य माला पालुङ्वा, पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी, प्रेस सेन्टर उपत्यका समन्वय कमिटीका सहसंयोजक लोकेश लिवाङ लगायतको उपस्थिति रहेको थियो ।

२०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्ण सेन ‘इच्छुक’ को हत्या भएको थियो । २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts