बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २९ । देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी थप पाँचजनाको मृत्यु भएको छ । योसँगै चार दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । यो संख्या शनिबार ५५ थियो। यसैगरी बाढीपहिरोमा ४१ जना बेपत्ता छन् । पछिल्लो २४ घण्टामा संखुवासभा, झापा, सुनसरी, उदयपुर र जाजरकोटमा मानवीय क्षति भएको छ। पहाडी जिल्लामा बाढीपहिरो र तराईमा डुबानले कम्तीमा एक सय परिवार विस्थापित भएका छन् ।

संखुवासभामा ११ जना बेपत्ता

जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिसुवाखोला बेसिन्दामा शनिबार राति पहिरो गएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पीडितको उद्धारमा समस्या भएको बताइएको छ । त्यस्तै भोजपुरमा पहिरोबाट पाँच परिवार विस्थापित भएका छन् । षडानन्द नगरपालिका– ४ दिङलाबजारका ५ परिवार विस्थापित भएको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले बताउनुभयो । कोसी राजमार्गको धरान–धनकुटा खण्डको गर्जुवामा बाढीपहिरोले सडक पुरिँदा यातायात सेवा अवरुद्ध भएको छ ।

झापामा एक मृत्यु, एक बेपत्ता

झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बाढीले बगाउँदा मृत्यु भएको छ । मलामी जानु भएका बेला बाढीले बगाएका उहाँको शव बाह्रदशी गाउँपालिकास्थित बिरिड नदी किनारमा भेटिएको थियो । यस्तै भद्रपुर नगरपालिका–३ स्थित मेची खोलाको बाढीले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन् । कन्काई नदीको बाढी बस्तीमा पसेपछि शिवसताक्षी नगरपालिका–६ का १५ परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

उदयपुरमा खोलाले बगाएर मृत्यु

उदयपुरमा त्रियुगा नदीको बाढीले बगाउँदा त्रियुगा नगरपालिका–९ का ६० वर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको शव शनिबार साँझ फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वर्षाको पानीले सदरमुकाम गाईघाट बजार डुबानमा परेको छ। निर्माणाधीन मदन भण्डारी लोकमार्गको नाला उचाइमा बनेकाले बजारक्षेत्र होचो हुन गई डुबान भएको हो ।

सुनसरीमा एकको मृत्यु, एक बेपत्ता

शनिबार धरान १३ स्थित राई टोल नजिकबाट सर्दु खोलाले बगाएका ६० वर्षीय रामबहादुर बस्नेतको शव धरान ११ मा भेटिएकोे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । यसैगरी दाउरा निकाल्न गएका बेला सप्तकोसी नदीमा आइतबार बिहान डुबेर बराहक्षेत्रका अन्दाजी १४ वर्षर्का अनिल बस्नेत बेपत्ता हुनु भएको छ । नदीको भंगालोमा परेपछि उहाँ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो । सर्दु खोलाको बाढीले निर्माणाधीन धरान १६, नौलो बस्तीस्थित तारा सुब्बा स्मृति पार्कमा पनि कटान गरेको छ। धरानको निराजन बस्ती नजिकै पहिरो खस्दा एउटा टहरा पुरिएको छ । सेउती खोलाको बाढीले सुन्दरबस्ती जोखिममा परेको छ ।

मोरङमा खेत कटान र बस्ती डुबानमा

लगातारको वर्षाले मोरङका बक्राहा, चिसाङ, केसलियालगायत खोलामा आएको बाढीले धान खेत र बस्ती कटान गरेको छ। कयौं घर डुबानमा परेपछि मानिस र चौपायलाई सुरक्षित स्थानमा सार्न थालिएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका पश्चिमतर्फ रहेको केसलिया खोलामा आएको बाढी विराटनगर–६ र १२ केही घर डुबानमा परेका छन् । ६ नम्बर वडाको ब्रम्हपुराका केही घर र १२ नम्बर वडाको सिमराइ बस्तीमा बाढी पसेपछि ३० परिवार विस्थापित भएका छन् । विस्थापित ३० परिवारका करिब १ सय ५० जनालाई बखरी स्कुलमा राखिएको प्रहरीले जनाएको छ । कानेपोखरी गाउँपालिका–५ स्थित दुखी टोलबाट चिसाङ खोलाले कटान सुरु गरेपछि जोखिममा परेका ७ घरका ३२ जनालाई रमाइलो प्रहरी चौकीको टोलीले भन्साबारी विद्यालयमा सारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । कानेपोखरी–२ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवका दुईवटा घर बगाउँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी राईले दिनुभयो । बक्राहा खोलाको बाढीले ११ बिघा जग्गा कटान गरिसकेको छ । कटानबाट ६४ परिवार प्रभावित भएका छन् । वपद् व्यवस्थापन समितिले जिल्लाका १५ स्थानलाई बाढीको उच्च जोखिमा राखेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts