सिरिजंगाले प्रथम पुरस्कार ३ लाख ३३ हजार नगद भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ५ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुस ९ गते देखि प्रथम पुरस्कार राशी ३ लाख ३३ हजार रुपैैंया भएको अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ताप्लेजुङका ९ पालिका बीच अन्तरपालिका नकाउट पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पुस ९ देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताका बिजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैंया नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ५० तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो र चौथो हुने टिमले सान्त्वना पुरस्कार स्वरुप ५५ हजार ५ सय ५५ रुपैंयाका दरले नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाउने छन् । प्रतियोगिता अवधिभरको सर्बोत्कृष्ट खेलाडीलाइ नगद १० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा अन्य बिधागत खेलाडीलाइ जनही नगद २ हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

टिम प्रवेश शुल्क नलिने निर्णय गरेको गाउँपालिकाले प्रत्येक पालिकाबाट प्रतिनिधित्व भइ आउने १५ जना सदस्यलाइ आतेजाते खर्च स्वरुप प्रतिव्यक्ति २ हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने भएको छ । प्रत्येक पालिकाबाट खेलमा प्रतिनिधित्व गर्ने १५ सदस्यीय टिमलाइ प्रतियोगिताबाट नबाहिरिञ्जेल सम्मका खाना तथा खाजा र आवास खर्च बापत प्रतिव्यत्ति प्रतिदिन १ हजार रुपैंयाका दरले रकम उपलब्ध गराइने भएको छ । यो रकम पालिकाले करकट्टी गरेर बाँकी रहेको रकम सोझै सम्वन्धित टिमका टिम व्यवस्थापकलाइ रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले खेलाडीहरु अनिवार्य सम्वन्धित पालिका क्षेत्रको मात्र हुनुपर्ने,सम्वन्धित पालिकाको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने नियम बनाएको छ ।

नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रमा स्थायी ठेगाना सम्वन्धित पालिकाको देखिएको तर अन्यत्र बसाँइ सरी गइ सकेको हकमा मतदाता परिचयपत्रको प्रतिलिपि भने अनिवार्य पेश गर्नुपर्ने नियम बनाइएको छ । यस्तै खेलमा सहभागी हुने पालिकाले १ जना जनप्रतिनिधिको नेतृत्वमा १२ जना खेलाडी,१ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी १५ जनाको टोली मात्र लैजान पाउने व्यवस्था गरिएको छ । यस्तै कुनै खेलाडी वा अफिसियल मादक पदार्थ सेवन गरी आएको पाइएमा खेलमा सहभागी नगराउने सिरिजंगाले नियम बनाएको छ । यस्तै कुनै व्यक्ति वा संघ÷संगठनले प्रायोजन गरेको जर्सी खेलको क्रममा लगाउन नपाउने तथा खेलको क्रममा पालिकाको पहिचान वा प्रतिनिधित्व हुने जर्सी मात्र प्रयोग गर्न पाउने नियम समेत गाउँपालिकाले बनाएको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts