| | |

५० किलोमिटर कच्ची मार्ग छाडेर २० किमीमै खेवाङ पुग्ने बाटो मर्मत गर्ने तयारीमा सिरिजंगा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । आधाभन्दा बढी कच्ची मार्गको दुरी घटाएर खेवाङ सम्म पुग्ने बाटो सुचारु गर्नका लागि ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले ४० लाख रकम खर्च गर्ने भएको छ । यो कच्ची मार्गको अधिकाँस भाग सिदिङ्वा गाउँपालिका क्षेत्रमा पर्छ । चालू आर्थिक बर्षमा सिदिङ्वा गाउँपालिकाले सो बाटो मर्मतसम्भारका लागि रकम बिनियोजन गरेको छैन । बाटो छोटो बनाउने प्रयासमा सिरिजंगा गाउँ कार्यपालिकाको बैठकले ४० लाख रकम बराबरको ठेक्का निकाल्ने निर्णय लिएको हो । सिरिजंगा गाउँपालिकाको केन्द्र रहेको स्थान तेल्लोकबाट वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन पुग्नका लागि अहिले सिदिङ्वा गाउँपालिकाका ४ वडा क्रमशःसाब्लाखु,लिम्बूदिन,मेहेले र सुरुम्खिममा रहेका कच्ची सडक प्रयोग गर्नु अनिवार्य छ । यि वडाहरुका सडक छिचोल्दै खेवाङ सम्म पुग्नका लागि करिव ५० किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । सिरिजंगा गाउँपालिकाको वडा नं २ मा पर्ने हप्पुखोलाको काबेलीपुलबाट सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बूदिन र वडा नं ६ मेहेलेको भू–भाग हुँदै खेवाङ सम्म पुग्ने सडकको ट्रयाक पनि छ । तर उक्त सडकका बिभिन्न स्थान बिग्रे÷भत्केका कारण अहिले त्यो मार्ग सञ्चालनमा छैन । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार उक्त सडक स्थानीय तहको स्थापना हुनु अघि नै स्थानीयबासीहरुकै श्रम र लागत सहभागितामा खनिएको थियो । स्थानीयबासीको श्रम तथा लागत सहभागितामा खनिएको उक्त बाटो मर्मतसम्भार गरी सुरु गर्दा पालिकाको केन्द्र रहेको स्थान तेल्लोकबाट वडा नं ७ खेवाङ सम्म पुग्न करिव २० किलोमिटरमा पुग्न सकिने अवस्था रहेको पालिकाले ठम्याएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार अहिले सिदिङ्वा गाउँपालिकाका ४ वटा वडाका सडकहरु पार गर्दै खेवाङ सम्म पुग्न करिव ५० किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । स्थानीयबासीको श्रम तथा लागत सहभागितामा खनिएको हप्पुखोला काबेलीपुलबाट खेवाङतर्फ जाने सडक सुरु भए अहिले भन्दा करिव ३० किलोमिटर कच्ची सडकको दुरी घट्ने छ । यो कच्ची सडक सुरु भए सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन तथा सिदिङ्वा गाउँपालिका वडा नं ५ मेहेले र वडा नं ६ मेहेलेका बासिन्दालाइ सडक दुरी छोटिने भएकोले उक्त सडक मर्मतसम्भारका लागि ठेक्का आवहन गर्ने कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सिदिङ्वा र सिरिजंगा गाउँपालिकाले यसअघि नै सीमाक्षेत्रमा पर्ने संरचना निर्माणमा सामुहिक दायित्व लिने सहमति पनि गरिसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts