महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्तीका अवसरमा ताप्लेजुङमा भए बिबिध कार्यक्रम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्तीका अवसरमा बिहीबार ताप्लेजुङमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा प्रर्दशन ग¥यो । ¥यालीका सहभागीले समाज सुधारका लागि महागुरु फाल्गुनन्दका योगदानहरुको स्मरण गर्नु भएको थियो । फुङ्लिङ नगरपालिका वडा नं ६ काहुलेस्थित किराँत हाङ्सम माङ्दिमको प्रांगणमा विश्व शान्ति,मानव एकता र सकल प्राणीको रक्षार्थ येत् ताम्धुङ लाधुङ् सेमी सेवा अर्थात् अष्ट महायज्ञ कार्यक्रम गरिएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिनुभयो ।
तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरुलाई संशोधन गरी राम्रो रीति रिवाजको संरक्षण साथै खराब कुराहरुलाई सच्याउनुपर्ने अभियान्ताका रुपमा लिङ्देन उदाउनु भएको थियो । उहाँले विक्रम सम्बत् १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको सहभागितामा भेला आयोजना गरी पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लब्रेकुटीमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति, कुरीति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचारप्रसारका साथै लागू गरेको मानिन्छ । ताप्लेजुङस्थित कुम्भकर्ण हिमश्रृङ्खलालाई किराँतीहरुको पवित्र धार्मिकस्थल तथा तीर्थस्थलको रुपमा समेत उहाँले नै सुरुवात र विकास गरेको किराँत धर्मका जानकारहरु बताउँछन् । सोही अनुरुप अहिले पनि किराँत धर्मावलम्बीहरुले कुम्भकर्ण अर्थात फक्ताङ्लुङलाई पवित्र धार्मिक स्थलको रुपमा लिई हरेक वर्ष सेवा (पूजापाठ) गर्दै आएका छन् । अनेकौं समाज सुधारका कार्य गरेका कारण स्वर्गीय लिङ्देनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्द जयन्तीका दिन प्रदेश १ सरकारले प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ ।