कर्मचारी मिलन केन्द्र ताप्लेजुङले देशभरका कर्मचारी मिलन केन्द्रलाई हुलाकमार्फत पठायो पाथीभराको टीका प्रसाद

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङले सोमवार देशभरका कर्मचारी मिलन केन्द्रलाई ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत पठाएको छ ।

कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पाथीभरा मन्दिरको दर्शनका लागि आउन निम्तासहित पाथीभराको महिमा र महत्व बृद्धि गर्ने उद्देश्यसहित पाथीभरा मन्दिरको टीका प्रसाद देशभरका कर्मचारी मिलन केन्द्र पठाईएको जानकारी दिनुभयो । टीका प्रसाद प्रेषण गर्ने जिम्मेवारी लिएको जिल्ला हुलाक कार्यालय ताप्लेजुङका प्रमुख हेमराज पाण्डेले आफुहरुले प्राप्त गरेको जिम्मेवारी अनुसार टीका प्रसाद सुरक्षित तवरले सम्वन्धित निकाय र व्यक्तिसम्म पुर्‍याउने जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले टीका प्रसाद पाथीभरा क्षेत्र विकास समितिले निःशुल्क रुपमा उपलब्ध गराउने र नोट तथा ढक्की र मानापाथी सहितका सामग्रीको भने समितिले तोके अनुसारको शुल्क लाग्ने जानकारी दिनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले पनि देशभरका कोलेनिकामा केहिदिनभित्रै टीका प्रसाद हुलाकमार्फत प्रेषण गर्ने तयारी गरेको छ । कोष नियन्त्रक यामनाथ गिरीले केहिदिन भित्रै कोलेनिकाले पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत देशभरका कोलेनिकामा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

गत साउन २१ गते ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पहिलो सेवाग्राहीको रूपमा पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत धनुषा पठाउनु भएको थियो । दाहाल धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीबाट असार २८ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहनु भएको छ ।

Similar Posts