| |

ताप्लेजुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरिँदै

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १ ।
ताप्लेजुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरिने भएको छ । जिल्ला अस्पताललाई १५ शैयाको क्षमताबाट ५० शैयामा स्तरोन्नति गरिने भएको हो । विगत पञ्चायती शासन कालमा स्थापना भएको जिल्ला अस्पताललाई करिव ४० वर्षपछि स्तरोन्नति गर्न लागिएको हो । हाल कायम रहेको शैया क्षमतालाई बढाएर ५० शैया क्षमतामा स्तरोन्नति गर्नेगरी प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले सोमबार शुभारम्भ गर्नुभएको छ ।
लामो समयपछि जिल्ला अस्पतालको स्तरोन्नति हुने भएपछि जिल्लाबासीलाई भने राहत पुग्ने भएको छ । पर्याप्त शैया सङ्ख्या नहुँदा भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि जिल्लाबासीले अपेक्षा राखेका छन् । शुभारम्भ कार्यक्रममा सामाजिक विकासमन्त्री साम्सोहाङले शैया वृद्धिसहित अस्पतालको स्तरोन्नतिले उपचार सेवा लिन आउने बिरामीलाई राहत पुग्ने बताउनुभयो ।
जिल्ला अस्पतालको स्तरोन्नतिसँगै सोहीअनुसार सेवा सुविधा उपलब्ध हुने हुँदा जिल्लाबासी तथा उपचार सेवा लिन आउने सेवाग्राहीलाई ठूलो राहत पुग्ने साम्सोहाङको भनाइ छ । उहाँले अस्पताल स्तरोन्नतिको शुभारम्भसँगै पूर्वाधारको आवश्यक व्यवस्था, उपकरण र जनशक्ति व्यवस्थाका लागि प्रदेश सरकारले थप योजना बनाइरहेको पनि बताउनुभयो । प्रदेश सरकारले बनाएको योजनालाई क्रमशः कार्यान्वयन गर्दै जानेसमेत उहाँले बताउनुभयो ।
त्यसो त करिव एक महिना अघि मात्र जिल्ला अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरीटेनडेन्ट डाक्टर अनिता वाइबाका अनुसार प्लान्ट (प्रविधि) जडान गरिएपछि हाल नियमित अक्सिजन उत्पादन भइरहेको छ । जिल्ला अस्पतालको स्तरोन्नति हुने भएपछि पूर्वाधार, आवश्यक प्रविधि र जनशक्ति व्यवस्थापन हुनेमा डाक्टर वाइबाले विश्वास व्यक्त गर्नुभयो ।
डा. वाइबाले हालसम्म जिल्ला अस्पतालको शैया क्षमता १५ भए पनि ३० भन्दा बढी शैया (बेड) राखेर बिरामीलाई उपचार सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । अस्पतालमा पूर्वाधार, उपकरण र आवश्यक जनशक्तिको भने अभाव रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार दक्ष जनशक्ति नहुँदा अस्पतालमा भेन्टिलेटर प्रविधि उपलब्ध रहेपनि प्रयोगविहीन अवस्थामा छ । यस्तै शव गृह साँघुरो (सानो) भएकाले एकै पटक एकभन्दा बढी शप राख्नुपर्ने र पोष्टमार्टम गर्नुपर्ने अवस्था आएमा समस्या रहेको बताउनुभयो ।
जिल्ला अस्पतालमा नवौं तह र आठौं तहका एक–एक गरी दुईजना मेडिकल अधिकृतको स्वीकृत दरबन्दी रहेपनि आठौं तहका एकजनाको मात्र पदपूर्ति रहेको छ । अन्य करार दरबन्दीमा चारजना डाक्टर कार्यरत रहनुभएको अस्पतालकी सूचना अधिकारी विजया राईले जानकारी दिनुभयो । राईका अनुसार डाक्टरबाहेक अन्य थुप्रै दरबन्दी पनि रिक्त रहेका छन् । जिल्ला समन्य समिति प्रमुखसमेत रहनुभएका जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले प्रदेश र सङ्घीय दुवै सरकारको सहयोगमा स्तरोन्नतिको कार्यलाई पूरा गरिने बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति लगायत पार्टीका जिल्लास्थित प्रमुख तथा प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।

जिल्ला अस्पताल स्तरोन्नति शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts