| |

मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, असोज १९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको करिव तीन महिना पुग्न लाग्दा सत्तारूढ गठबन्धनबीच बल्ल मन्त्रालय भागबण्डा टुंगिएको छ । मंगलबार बालुवाटारमा शीर्ष नेतृत्वको उपस्थितिमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति भएको सत्तारुढ गठबन्धनले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ । कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने मोटामोटी सहमति छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ । जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति भएको छ । स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ ।
गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts