|

मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने निर्णय

अरुलाई पनि शेयर गरौ !


काठमाडौ,असार १९ । सत्तारुढ नेकपाभित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हुन् । शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेशकुमार भट्टराई सहभाी हुनु भएको थियो । ‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’ दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ । दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले बताउनुभयो । पूर्वमाओवादी खेमाका नेता रायमाझीले भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’ दोस्रो पुस्ताका नेताहरुले विवाद साम्य पार्ने भनिरहँदा प्रधानमन्त्री केपी ओलीको समर्थकबाट सडकमा जुलुसै निस्कन थालिसक्यो नि भन्ने प्रश्नमा नेता रायमाझीले भन्नुभयो, ‘पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन । जसले सडकमा प्रदर्शन गरिरहेको छ, त्यो तत्काल रोकिनुपर्छ ।’
युद्धविराम’ को प्रयास

नेकपाभित्र पछिल्लो विवादले पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत मिलेको शीर्ष नेताहरुले नै बताएपछि दोस्रो पुस्ताका नेताहरू एकता बचाउन संगठित भएका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्कोतिर छन् । यद्यपि सहमतिको प्रयास जारी राख्न शुक्रबार दुवैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो । ११ नेताको बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । ‘यसका लागि युद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुनखालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।’ पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्ने नेताहरुले बताएका छन् । यसका लागि अध्यक्षद्धय र अरु नेताहरुको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले जोड दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts