नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लियो
काठमाडौ,असार १९ । नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ । नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।
दक्षिण एशियामा माल्दिभ्सको प्रतिव्यक्ति आय राम्रो
दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ । माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो । तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ । गएको वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चेको छ । दक्षिण एशियाली देशमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा रहेको छ । अफगानिस्तानको प्रतिव्यक्ति आय ५ सय ४० अमेरिकी डलरमात्रै रहेको विश्व बैंकको तथ्याँकले देखाएको छ । विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका देशहरुलाई न्यून आयवर्गमा, त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ ।