परम्परागत खेती तरिका त्याग्दै ताप्लेजुङको बुङ्कुलुङका किसान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १८ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा बुङ्कुलुङका मिङ्मानोर्बु शेर्पाले कृषि पेशामा सर्मपित भएर दिन बिताएको करिव १२ बर्ष भयो । बाजेले जे गर्नुभयो, उहाँका बाबुले पनि त्यहिँ । बाबुको लय छोरा मिङ्मा नोर्बुले समेत समाउँदै आउनुभयो ।‘परम्परागत खेती गरिँदो रहेछ,यसो मौसम हे¥यो,त्यसलाई सुहाउँदो खेती गर्न थालिहाल्यो’ मिङ्मानोर्बुले भन्नुभयो । अब भने उहाँलाई पुरानै ढ¥राको खेती किसानी असम्भव रहेछ जस्तो लाग्न थालेको छ । उहाँले तत्कालै खेती गर्ने ठाउँको माटो परीक्षण गर्ने योजना बनाउनु भएको छ । मौसमी पात्रो तयार गर्ने र त्यहिँ पात्रो अनुसार चल्ने उहाँको योजना छ । स्थानीय जडिबुटी र झारपात प्रयोग गरेर उहाँले जैविक बिषादी बनाउनुहुने छ । बिगतमा बालीमा रोगकिरा लागे रसायनिक बिषादी प्रयोग गरिहाल्ने परम्परा उहाँको दिमागबाट हटेको छ । उहाँ कुन समयमा,कस्तो प्रकार र कसरी बाली लगाउने भन्नेमा जानकार बन्नु भएको छ । ‘कम्तिमा २ सेन्टिमिटर सम्म फरक पारेर तरकारी बाली रोपण गरे राम्रो हुने रहेछ’यसको फाईदा बारे बताउँदै मिङ्मानोर्बुले भन्नुभयो‘यस्तो रोपणले पानी र रोगकिराको असरबाट समेत बचाउने रहेछ’ । यसअघि मकैको फेदमा सिमी खेती गर्दै आएका उहाँलाई अब त्यो लाभदायी हुदैन भन्ने ज्ञान पनि पलाएको छ । भन्नुहुन्छ‘बरु ठाउँ अलग गरेर रोप्छु र अहिलेभन्दा बढी उत्पादनका लागि कोशिश गर्छु’ ।
कुम्भकर्ण लघु उद्यम समूहमा आबद्ध त्यहाँका किसान मध्ये एक हुनुहुन्छ पेम्बाडोमा शेर्पा । किसानी पेशामा आबद्ध भएको उहाँको जीवनको समयले पनि एक दशक नाघी सकेको छ । तर खेती कसरी गर्ने भन्ने प्राविधिक ज्ञान भने उहाँले यसपटक मात्र पाउनुभयो । अहिले सम्म खेती गर्ने ठाउँको माटो परीक्षण गर्नुपर्छ भन्ने ज्ञान नै थिएन उहाँमा । डढेली सहितका रोग लागे बजारमा आएर रसायनिक बिषादी लगेर छर्किन्थिन् ।‘दश बर्षपछि खेती गर्ने तरिका थाह पाएँ’उहाँले भन्नुभयो । अब उहाँ रोग किरा लागे रसायनिक बिषादी खोज्न बजार झर्ने होईन,झारपात र घरायसी औषधिमुलोको प्रयत्न गर्नुहुनेछ । सिस्नो,अंगेरी,बोझो,गाईको गहुँत,तितेपाती,बोझो,चिङ्फिङ,पदिना र टिम्बुर सहितका झारपात तथा जडिबुडीबाट घरमै बसीबसी रोगकिरा बिरुद्ध लड्ने जैविक बिषादी बनाउन सकिन्छ भन्ने मेसो पाएपछि त्यहाँका किसानले बालीमा रसायनिक बिषादी नलाउने निधो पनि लिएका छन् । ‘घरमै बस्तुभाउको गोबर मल छ,जैविक मल उत्पादन गर्ने ज्ञान समेत पाए पछि अब हाम्रो गाउँको उत्पादन पूर्णतया अग्र्यानिक हुनेछ’कृषक दावा शेर्पाले बताउनुभयो । त्यहाँका किसानले अग्र्यानिक उत्पादन मात्र होईन,परम्परागत खेती प्रणालीलाई समेत त्याग्ने भएका छन् । स्थानीय कृषक लाक्पानुपु शेर्पाले नयाँ प्रविधि र नयाँ सिकाईबाट खेती गरे उत्पादन र गुणस्तरमा समेत बृद्धि हुने अनुमान लगाउनु भएको छ । उहाँको खेतबारीमा यसैबर्षबाट नयाँ ढंगबाट उत्पादन सुरु हुने छ ।
परम्परागत खेती प्रणाली अवलम्वन गर्दै आएका कृषकहरुलाई बैज्ञानिक तवरले अग्र्यानिक खेती गर्ने सीप प्रदान गर्न गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)मार्फत व्यवसायिक खेती सम्वन्धी सैद्धान्ति,प्राविधिक र अभ्यासमुलक ज्ञान दिएको थियो । परम्परागत खेती प्रणाली बिस्थापन गरेर नयाँ ढंगबाट उत्पादन गर्ने कार्यमा कृषकहरु उत्साहित देखिएको त्यहाँका लागि खटिएकी उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले बताउनुभयो । कार्यक्रम कार्यान्वयन गर्ने संस्था कञ्चनजंघा महिला विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल न्यौपानेले लामो समय देखि खेतीपातीमा आबद्ध रहेपनि प्राविधिक र सैद्धान्तिक ज्ञानको अभावमा गुणस्तरीय र अग्र्यानिक उत्पादन लिन नसकेका किसानलाई लाभ पु¥याउन किसानलाई सीप विकास सम्वन्धी अनुशिक्षण गराईएको बताउनुभयो । ताप्लेजुङको निर्वाचन क्षेत्र नं १(क)मा मेड्पाको कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी कञ्चनजंघा महिला विकास केन्द्रले पाएको छ । उद्योग अधिकृत देउप्रकाश तामाङले उपयुक्त नर्सरी,माटो सुहाउँदो बाली,गुणस्तरीय र अग्र्यानिक उत्पादन,जैविक बिषादी र मलको प्रयोग र हावापानीको उचित व्यवस्थापनले उत्पादन र उत्पादकत्वमा बृद्धि हुने ज्ञान पाउनु नै किसानका लागि सबैभन्दा ठूलो सम्पति हुने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले किसानले पाएको ज्ञान र सीपको उपयुक्त प्रयोगमार्फत खेती प्रणालीमा नयाँपन दिएको हेर्न चाहने चाहना व्यक्त गर्नुभयो । उहाँले प्राप्त ज्ञान र सीपको भरपूर उपयोग गर्न र समस्या देखिए कृषि प्राविधिकको सहयोग लिन किसानलाई सुझाउनु भएको छ । जिल्ला समन्वय समितिका शाखा अधिकृत तथा अनुगमन संयोजक गणेश अधिकारी र घरेलु कार्यालय ताप्लेजुङका खरिदार निर्जा भट्टराईले किसान आफैं खेती प्रणालीमा नयाँपन दिन कस्सिनु र जिज्ञासु बन्नुलाई परम्परागत खेती प्रणाली त्याग्ने योजनाको संकेतको रुपमा लिएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts